काठमाण्डौ । तीनवटा बैंकको आज पुस २५ गते राजधानीका विभिन्न स्थानमा वार्षिक साधारणसभा आयोजना हुँदैछ ।

नेपाल बैंक लिमिटेड आफ्नो ६० औँ, प्राइम कमर्सियल बैंकले १२ औँ र कैलाश विकास बैंक लिमिटेडले २६ औँ वार्षिक साधारणसभा गर्न लागेका हुन् । यी बैंकहरुको साधारणसभा क्रमशः काठमाण्डौको हलचोकस्थित एपीएफ क्लब, राष्ट्रिय सभागृह र अमृतभोग पार्टी प्यालेसमा हुनेछ ।

नेपाल बैंकको वार्षिक साधारणसभामा बैंकले प्रस्ताव गरेको चुक्तापुँजीको कुल २५ प्रतिशतका दरले हुन आउने लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांश १५ प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

सभामा बैंकको अधिकृत पुँजी रु १० अर्बबाट वृद्धि गरी रु १५ अर्ब कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफामा संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

सभामा वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफलपछि पारित हुनेछ ।

यसैगरी कैलाशलाई प्राइम कमर्सियल बैंकले प्राप्ति गर्न लागेकोले दुवै बैंकको साधारणसभा यो प्रक्रियालाई टुंगो लगाउनेमा केन्द्रित हुनेछ । 

प्राइमको वार्षिक साधारणसभामा सभामा प्राइमले कैलाशलाई प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ता एसएआर एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सले तयार गरेको कैलाको चल÷अचल सम्पत्ति तथा दायित्व मूल्यांक प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा निर्धारण गरिएको कैलाको सेयरको सेयर स्वाप अनुपात पारित गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी प्राइमले कैलाश प्राप्ति गर्ने सम्बन्धमा गरिएको अन्तिम सहमति/सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

उता कैलाशको वार्षिक साधारणसमा पनि गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर र २.७७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) पारित हुनेछ ।