काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा देखिएको तरलता समस्या समाधानका लागि बिहीबार नेपाल राष्ट्रबैंकले थप १० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ । 

केन्द्रीय बैंकले बुधबार मात्रै १० अर्ब बराबरको सरकारको विकास ऋणपत्र खरीद गरेको थियो । १० अर्बको ऋणपत्रमा २२ अर्ब ६८ करोड बढीको आवेदन परेको थियो । २२ बैंक तथा बित्तीय संस्थाले बोलकबोलमा सहभागिता जनाए पनि १३ जनाले मात्रै पैसा पाएका थिए । 

उच्च मागको यही अवस्थालाई सम्बोधन गर्न राष्ट्रबैंकले पुस २० गते(आज) पुनः १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सोझै खरीदका लागि बोलकबोलको सूचना जारी गरेको हो । 

बैंकले गत आइतबार पनि ५ अर्ब बराबरको विकास ऋणपत्र सोझै खरीद गरी बजारमा रकम पठाएको थियो । ५ अर्बको आवेदन माग्दा १९ अर्ब बढीको दरखास्त परेको थियो ।

यो रकम बजारमा गएपछि उच्च दरले बढिरहेको ब्याजदरमा स्थिरता आउने र बजारको आत्मबल बढ्ने अपेक्षा गरिएको केन्द्रीय बैंकका अधिकारीहरुले दाबी गरेका छन् ।

बैंक तथा बित्तीय संस्थाका सीइओहरुले भने ऋणपत्रमार्फत रकम प्रवाह गरेर मात्र समस्याको दीर्घकालीन समाधान नहुने बताउँछन्। उनीहरु कर्जा पुँजी निक्षेपको अनुपात सीसीडीसम्बन्धी विद्यमान व्यस्थामा नै परिवर्तनको माग गरिरहेका छन्। एक बैंकरले भने–‘हामीले खोजेको लगानीयोग्य तरलता हो ।’

केन्द्रीय बैंकका अधिकारीले बैंकहरुले १ सय ६ अर्ब बराबरको स्रोत निक्षेपको परिचालन गर्दा कर्जा बिस्तार भने १ सय ६० अर्ब पुर्याएका बताए । यहीकारण समस्या विकराल बनेको बताइएको छ ।