काठमाण्डौ । हरेक वर्षको साउन, भदौ र असोज महिना बैंक तथा बित्तीय संस्थामा लगानी गर्नेहरुका लागि प्रतिक्षाको महिना हो । यी तीन महिनामा हरेक कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश बाँड्ने हुँदा पूँजीबजार यो अवधि निकै हराभरा हुने गर्छ । पछिल्लो समय नेपाल राष्ट्रबैंकले पूँजीवृद्धिको सीमा नै तोकेपछि त्यसले लाभांशको महत्वलाई अझ बढाइदिएको छ । यो बेलामा लाभांशसँगै हकप्रदको समेत बाढी आएको छ । 

ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्ना सेयरधनीलाई निराश पार्ने काम गरेका छन् ।

भारतले लामो समयसम्म लगाएको अघोषित नाकाबन्दी र महाभूकम्पका कारण समग्र आर्थिक सूचकहरु नकारात्मक बनेर देशको अर्थतन्त्र  थिलथिलो भए पनि यो अवधिमा देशका बैंक तथा बित्तीय संस्थाहरु हल्लिएनन् । जसका कारण आर्थिक वर्ष २०७२/७३ मा यस्ता संस्थाहरुले उच्च नाफा कमाएका छन् । यही कारण लगानीकर्तालाई धमाधम लाभांश समेत वितरण गर्न थालिएको छ । 

सबैभन्दा धेरै चुक्तापूँजी बनाउनुपर्ने चटारोमा रहेका वाणिज्य बैंकहरुले समेत आफ्नो नाफाका आधारमा लाभांश घोषणा गरिररहेका छन् । यहीकारण यो समूहको सेयर कारोबारमा लगानीकर्ताको निकै ठूलो चाप समेत देखिएको छ । 

को खुम्चिए, को फूके ?
हालसम्म लाभांश घोषणा गरेकामध्ये सबैभन्दा राम्रो अफर नवील बैंकले आफ्ना लगानीकर्तालाई दिएको छ । यो बैंकले ३० प्रतिशत सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । हालसम्म वाणिज्य बैंकले घोषणा गरेकामध्ये यो नै उच्च लाभांश हो । नवील बैंकले अघिल्लो आर्थिक वर्षमा पनि ३० प्रतिशत सेयर र ६.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

धेरै लाभांश घोषणा गर्नेको सूचिमा नेपाल इन्भेष्टमेन्ट बैंक दोश्रो नम्बरमा छ । यो बैंकले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट लगानीकर्तालाई २० प्रतिशत सेयर र २१ प्रतिशत नगद लाभांश गरी कुल ४१ प्रतिशत लाभांश घोषणा गरेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षमा ३३ प्रतिशत सेयर र १.७४ प्रतिशत नगद गरी कुल ३४.७४ प्रतिशत लाभांश वितरण गरेको थियो । 

लाभांश घोषणामा नेपाल बंगलादेश(एनबी) बैंक र सनराइज बैंक क्रमशः तेश्रो र चौथो नम्बरमा छन् । एनबी बैंकले ३२ प्रतिशत सेयर र १.६८ प्रतिशत नगद लाभांश गरी कुल ३३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । सबैभन्दा पछिल्लोपटक सनराइज बैंकले आफ्ना लगानीकर्तालाई ३३.३३ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षमा एनबी बैंक र सनराइजले क्रमशः २६.३२ र २२.६३ प्रतिशत लाभांश वितरण गरेका थिए । 

अघिल्लो आर्थिक वर्ष ३९ प्रतिशत सेयर र २.०५ प्रतिशत नगद लाभांश घोषणा गरी टप पोजिसनमा रहेको एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांशसहित कुल २७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक र सानिमा बैंकले क्रमशः १६.६३, १६ र १५.७९ प्रतिशत लाभांश वितरणको घोषणा गरेका छन् । यी बैंकमध्ये ग्लोबल आइएमईले अघिल्लो आर्थिक वर्षमा २३ प्रतिशत लाभांश वितरण गरेको थियो भने सानिमा र सिटिजन्सले क्रमशः २१.०५ र २१.०५ प्रतिशत नै लाभांश बाँडेका थिए । 

हालसम्म लाभांश घोषणा गरेका ८ वाणिज्य बैंकहरुको अघिल्लो आर्थिक वर्ष र २०७२ ७३ को तुलनात्मक अध्ययन गर्दा एनआइसी एशिया बैंकको लाभांश खुम्चिएको छ । नवील बैंक थप प्रगतितर्फ उन्मुख हुँदै लगानीकर्तालाई उत्साहित बनाउन सफल देखिएको छ भने लाभांशतर्फ नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, एनबी बैंकको अवस्था पनि उत्साहप्रद नै देखिएको छ । ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक र सानिमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्ना सेयरधनीलाई निराश पार्ने काम गरेका छन् ।