काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले कमालको प्रगति गरेको छ । 

बैंकको आन्तरिक लफडा सकिएर व्यवस्थापन व्यवसाय बिस्तारमा आक्रामक बनेका कारण अधिकांश बित्तीय सूचकमा कमालको प्रगति देखिएको हो । 

समीक्षा अवधिमा बैंकले ६४ करोड ३९ लाख वितरणयोग्य मुनाफा कमाएको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १३२.०७ प्रतिशतले बढी हो । 

यस्तै, बैंकको खूद नाफातर्फ पनि ३९.८४ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा ५३ करोडमा सीमित खूद नाफा बढेर यो वर्ष ७४ करोडको उचाई चुमेको हो । 

अघिल्लो वर्ष ७३ करोड ६० लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब ३ करोडको उचाइमा पुगेको छ । 

बैंकले ६७ करोड २६ लाखमा सीमित खूद ब्याज आम्दानीमा ११७.८५ प्रतिशतको छलाङ मारेको देखिएको छ । यो वर्ष यस्तो आम्दानी १ अर्ब ४६ करोड आर्जन भएको हो । 

समीक्षा अवधिमा बैंकले ६४ अर्ब ७१ करोड निक्षेप संकलन गरी ५८ अर्ब ४४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ९.४१ प्रतिशतले बढेको छ भने  कर्जातर्फ १६.९० प्रतिशतको बढोत्तरी भएको छ । 

बैंकले अघिल्लो वर्ष ३ अर्ब ७६ प्रतिशतमा सीमित रिजर्बको आकार बढाई ४ अर्ब १७ करोड पुर्याउको छ । 

यो अवधिमा बैंकले खराब कर्जालाई घटाएर ३.५३ प्रतिशतको अनुपातमा झारेको छ । अघिल्लो वर्ष यस्तो कर्जाको अनुपात ४.०४ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष २२.६५ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष २१.१२ रुपैयाँ कायम भएको हो ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५९.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.३२ गुणा कायम भएको छ ।