 
                     
                                
                             
                                    काठमाण्डौ । आर्थिक संकटको चपेटामा परेको श्रीलंकाका जनताले राष्ट्रपति गोताबाय राजपाक्षेको राजीनामा माग गर्दै उनको निवास बाहिर हिंसात्मक आन्दोलन गरेका छन्।
संकट समाधानमा सरकार असक्षम रहेको भन्दै हजारौँ श्रीलंकाली जनताले मिरिहिनामा रहेको राष्ट्रपति निवासबाहिर राजीनामा माग गर्दै आन्दोलन गरेका हुन्।
समाचार एजेन्सी एपीका अनुसार शान्तिपूर्ण आन्दोलन गरिरहेका आन्दोलनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरो प्रयोग गरेपछि आन्दोलन हिंसात्मक बनेको हो। रिपोर्टका अनुसार आक्रोशित आन्दोलनकारीले राष्ट्रपतिको निवासबाहिर राखिएका श्रीलंका सेनाका दुईवटा बसमा ढुंगामुढा गर्नुका साथै आगजनी गरेका छन्। उनीहरुले आगो नियन्त्रण गर्न आएका अग्निनियन्त्रक बाहनको समेत बाटो छेकेको उल्लेख गरिएको छ। स्थितिलाई नियन्त्रणमा लिन सरकारले कर्फयु लगाएको छ।
प्रहरीले आन्दोलनमा संलग्न ५४ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। आन्दोलनमा ५ जना प्रहरी र १ जना प्रदर्शनकारी घाइते भएका छन्।
राष्ट्रपति राजपाक्षेले भने आन्दोलनकारीहरुलाई अतिवादी तत्वहरुको संज्ञा दिएका छन्।
आलोचकहरुले भष्ट्राचार र नातावादलाई औँल्याउँदै आएका छन्। उनीहरुले राष्ट्रपति र उनका दाजुभाई र भतिजहरुले प्रमुख मन्त्री पद ओगटेको र देशको अहिलेको हविगतको कारक रहेको आरोप लगाउँदै आएका छन्। सम्पूर्ण देशले १३ घन्टा लोडसेडिङको सामना गर्नुपरेका बेला राष्ट्रपति र उनका मन्त्रीहरुलानई भने विद्युत कटौतीमा छुट दिइने समाचारले श्रीलंकाली जनतामा थप आक्रोश पैदा गरेको छ।
विदेशी ऋणमा फसेको श्रीलंका यतिबेला चरम आर्थिक संकंटको अवस्थाबाट गुज्रिरहेको छ। विदेशी मुद्राको अभावका कारण श्रीलंकाले खाद्यान्न, इन्धन, औषधिजस्ता अत्यावश्यक वस्तुहरु आयात गर्न सकिरहेको छैन। जसका कारण जनतालाई देनिक गुजारा चलाउन हम्मे–हम्मे परिरहेको छ। इन्धन अभावका कारण श्रीलंकाका जनता १३ घन्टा लोडसेडिङको मार खेप्न बाध्य छन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19