काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ छलाङ हानेको छ । यो अवधिमा कम्पनीले ४ करोड ४२ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनी ५२ लाख ८१ हजार खूद घाटामा थियो । 

समीक्षा अवधिमा यो फाइनान्स कम्पनीले २ करोड  ३४ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ करोड ९५ लाखमा सीमित थियो । 

अघिल्लो वर्ष २ करोड ३० लाख संचालन घाटामा रहेको कम्पनीले यो वर्ष आफूमा व्यापक सुधार गरी ३० लाख ७३ हजार संचालन मुनाफा निकालेको छ । 

खराब कर्जाले थलिएर जर्जर बनेको यो संस्थाले आफूलाई आमूल सुधार गर्दै लगेको छ । जसअनुसार अघिल्लो वर्षसम्म ८४.९३ प्रतिशत खराब कर्जाको थुप्रो लागेकोमा यो वर्ष घटाएर ४९.२९ प्रतिशतमा झारिएको देखिएको छ । 

यो अवधिमा कम्पनीले २१ करोड निक्षेप संकलन गरी २८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १० करोड निक्षेप संकलन गरी २० करोड कर्जा प्रवाह गरेको थियो । 

खूदनाफातर्र्फ कम्पनीले राम्रो प्रगति गरे पनि यसको जगेडाकोष भने अझै ऋणात्मक नै छ । समीक्षा अवधिमा यो कम्पनीको जगेडा ७ करोड ५८ लाखले ऋणात्मक छ । अघिल्लो वर्ष भने १२ करोड २३ लाखले ऋणात्मक थियो । 

अघिल्लो वर्ष २.४० रुपैयाँ प्रतिसेयर घाटा रहेको कम्पनीले समीक्षा अवधिमा १४.८७ रुपैयाँ प्रतिसेयर आम्दानी गर्न सफल भएको छ भने यो अवधिमा प्रतिसेयर नेटवर्थ ७४.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.२७ गुणा कायम भएको छ ।