काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने ट्रेन्ड चलेको छ। जन्मदिन, पास्नी, विवाह तथा चाडपर्वको उपलक्ष्यमा आफ्नो परिवार, साथीभाई वा आफन्तलाई बीमा पोलिसी उपहार दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ। 

यस्ता अवसरमा अन्य भौतिक सामग्रीभन्दा बीमा पोलिसी उपहार दिँदा बीमा क्षेत्रसँगै पोलिसी उपहार पाउनेको समेत लाइफ सेक्युअर हुने बीमा विज्ञहरु बताउँछन्। साथै, कसैले भने जन्मदिन वा अन्य तिथिको अवसर पारेर बीमा पोलिसी खरिद गरी आफ्नै बीमासमेत गरेका हुन्छन्। 

यसैबीच बनेपा–५ काभ्रेका साहिना भैलले आफ्नो जन्मदिनमा आफ्नै बीमा गरेकी छन्। उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट ५ लाख रुपैयाँ बीमांक रकमको बीमा पोलिसी खरिद गरेकी हुन्।

‘भविष्यमा हुन सक्ने जोखिम बहन हुने र आर्थिक सुरक्षा तथा बचतसमेत हुने भएकोले मैले जन्मदिनका अवसर पारेर आफ्नै बीमा गरेकी हुँ’, साहिनाले भनिन् ‘तडकभडक खर्च गरेर जन्मदिन मनाउनुभन्दा थोरै–थोरै रकम बचत गरी बीमा गर्नु उपयुक्त ठानेर बीमा गरेकी हुँ।’ 

साहिना आईएमई लाइफ इन्स्योरेन्सको अभिकर्तासमेत हुन्। यही असोज महिनादेखि कम्पनीबाट एजेन्ट कोड लिएकी उनी यसै महिनादेखि एजेन्सी म्यानेजरसमेत बन्न सफल भएकी छन्। ‘बीमा अभिकर्ता बनिसकेपछि बीमाको महत्व थप बुझेर मैले आईएमई लाइफबाटै सरल सावधिक जीवन बीमा योजना खरिद गरेकी हुँ’, उनले भनिन् ‘अब यसै पेसामा लागेर अन्यलाई समेत जीवन बीमा गर्न प्रेरित गर्नेछु।’ 

ह्यान्डिक्र्याफ्टको अनलाईन बिजनेस सम्हाल्दै आएकी साहिनाले आगामी दिनमा बिजनेशसँगै आईएमई लाइफको सक्रिय अभिकर्ता बन्नेसमेत प्रतिबद्धता व्यक्त गरेकी छन्।