काठमाण्डौ । नामजस्तै हरेक त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने बिषयमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था फस्र्ट हुँदै आएको छ । यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशनमा समेत सबैलाई उछिनेको छ । कम्पनीले बुधबार आ.ब. २०७४/७५ मा १० करोड २१ लाख खूद नाफा आर्जन भएको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

अघिल्लो वर्षको चौथो त्रैमाससम्म यो कम्पनीको खूद नाफा ८ करोडमा सीमित थियो । यो हिसाबले कम्पनीले खूद नाफा तर्फ २७.४३ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीले १६ करोड ५९ लाख खूद ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्षको यही अवधिमा १२ करोड ९२ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा फस्र्ट माइक्रोफाइनान्सले ३ अर्ब ८६ करोड सापटी लिएर ४ अर्ब १३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३ अर्ब २४ करोड सापटी लिएर ३ अर्ब ४० करोड कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले रिजर्बकोषमा फड्को मारेको छ । अघिल्लो वर्ष यही अवधिमा ५ करोड ९८ लाख रुपैयाँ रहेको कोषको आकार समीक्षा अवधिमा बढेर १८ करोड ४४ लाखको उचाईमा पुगेको हो । यो हिसाबले रिजर्बमा कम्पनीले २०८.२७ प्रतिशतको छलाङ मारेको हो । 

कम्पनीले १२ करोड ४२ लाखमा सीमित संचालन नाफालाई बढाएर १६ करोडको उचाईमा पुर्याएको छ । 

यो कम्पनीमा खराबकर्जा छैन भने कस्ट अफ फण्ड भने १०.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ८.७३ प्रतिशत मात्र थियो । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकमा) १४.९३ रुपैयाँ, प्रतिसेर नेटवर्थ १२६.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.१७ गुणा कायम भएको छ ।