काठमाण्डौ । आयातमा आधारित अर्थतन्त्र निर्याततर्फ थप संकुचित बन्दै गएको छ ।
आयात दिनहुँ बढिरहँदा निर्यात भने घटिरहेको छ । यो अवस्था आत्मनिर्भर अर्थतन्त्रका लागि खराब संकेत हो ।
आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले वृद्धि भई रु.२९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । चालु आबको पहिलो त्रैमासमा कुल वस्तु निर्यात १६.१ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारततर्फ १८.३ प्रतिशत, चीनतर्फ ८.९ प्रतिशत र अन्य मुलुकतर्फ २.२ प्रतिशतले निर्यात वृद्धि भएको छ ।
वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कपडा, दन्त मञ्जन, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता, जी. आइ. पाइप लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर रु.४८३ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३३.५ प्रतिशत, चीनबाट भएको आयात ४५.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३६.८ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाज, एम.एस. बिलेट, अन्य मेशिनरी उपकरण तथा पार्टपुर्जा, सवारी साधन तथा पार्टपुर्जा, धान चामल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा कन्चनपुर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि आएको छ ।
त्यसैगरी, कञ्चनपुर भन्सार कार्यालय बाहेक अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले विस्तार भई रु.४५४ अर्ब ४८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा खुद सेवा आय रु.१३ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब १ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १०.३ प्रतिशतले वृद्धि भई रु.२५ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.२२ अर्ब ७२ करोड रहेको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago