काठमाण्डौ । दुई विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश वितरणको घोषणा गरेका छन् । 

हालै अन्य तीन बित्तीय संस्थासँगै कुमारी बैंक लिमीटेडसँग एक्वीजिसनको सम्झौता गरेको काष्ठमण्डप डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई लाभांश वितरणको घोषणा गरेका हुन् । 
असोज २३ गते बसेको काष्ठमण्डप डेभलपमेन्ट बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई २३ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको हो । नेप्सेले दिएको जानकारी अनुसार यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

काष्ठमण्डप डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३० करोड २२ लााख खूद नाफा आर्जन गरेको थियो । 

यसैबीच, कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडले पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । असोज १९ गते सम्पन्न कम्पनीको १०५ औं बोर्ड बैठकले बोनस प्रस्ताव गरेको नेप्सेले जनाएको छ । यो प्रस्ताव समेत नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा पौने १० करोड खूद नाफा आर्जन गरेको थियो ।