काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। 

संस्थाको बिहीबार (फागुन १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले संस्थाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२७ रुपैयाँको कुल २७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले बोनस सेयर वितरणपछि वृद्धि हुने पुँजी समायोजन गर्न संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सभाले आरएमडीसी साना किसान विकास लघुवित्तबीच मर्जर प्रक्रिया स्वीकृत गर्नेछ। सभाले साना किसान विकास र आरएमडीसी लघुवित्तबीच मर्जका लागि तय गरिएको १ः०.८७ सेयर स्वाप रेसियो पारित गर्नेछ। 

सभाले मर्जर प्रक्रियाका लागि भएका प्रारम्भिक सम्झौता, अन्तिम सम्झौता, डीडीए रिपोर्टलगायतका सम्पूर्ण कामकारबाही स्वीकृत गर्नेछ। 

मर्जरपश्चात बन्ने संस्थाको प्रबन्धपत्र र निमायवली अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले चैत १ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।