काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सोमबार २२ औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ।

संस्थाको वार्षिक साधारणभा काठमाण्डौको पुतलीसडकस्थित रजिस्टर्ड कार्यालयमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

गत आर्थिक वर्षको मुनाफाबाट संस्थाले चुक्तापुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुने आउने १३ करोड ४८ लाख ९८ हजार ५१३.७५ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ६६ हजार १७१.२५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

लाभांश पारित र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गरेको छ। यसको अर्थ मंसिर ७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।