काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ। 

विभिन्न इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाबमा परेको देखिन्छ। इचिमोकु र  सुपर ट्रेन्डबाट हेर्दा  बजारमा बिक्री दबाब नै देखिन्छ तर पनि बजार १९६० को विन्दुभन्दा माथि नै रहेको छ। 

बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाहरु ब्यान्डको तल्लो विन्दुसँगै हिडेको देखिन्छ। म्याक्डीमार्फत हेर्दा गत २६ जनवरीमा बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। 

आरएसआई र पिभटमार्फत हेर्दा भने बजारमा केही आशा गर्न सक्ने देखिन्छ। आरएसआईमा हाल बजार ओभर सोल्ड जोन ३२ को तहमा पुगेको छ। 

दैनिक चार्टमै बजार विगतमा आरएसआई ओभर सोल्डभन्दा केही तल गएर ‘डब्ल्यू’ आकार बनेपछि बजारमा बाउन्स आएको थियो (हेर्नुहोस् रातो एरो)। हाल पनि बजार ओभर सोल्ड जोन नजिक पुगेको छ तर ‘डब्ल्यू’ आकार भने बनिसेकेको अवस्था भने देखिँदैन। भलै बजार करिब–करिब तल्लो विन्दुमा पुगेको भन्न सकिन्छ। 

एकपटक बढेर घटेको बजारलाई कतिसम्म तल पुगेपछि फर्किन सक्छ अर्थात बजारको उतारचढाव हेर्ने भनेको पिभट प्वइन्टबाट पनि हो। यसबाट बजारलाई नियाल्दा दोस्रो सपोर्ट भनेको १९७० मा पर्छ। जसलाई बजारले भत्काइसकेको छ। अबको तेस्रो सपोर्ट भनेको १९२७ को विन्दुमा देखिन्छ। 

आज १९६७ मा बन्द भएको बजारले अब करिब–करिब पिभट् र आरएसआईमार्फत हेर्दा करिब ४० देखि ५० अंक गुमाएपछि बजारले पिभट्को तेस्रो विन्दुमा सपोर्ट लिन सक्ने आँकलन गर्न सकिन्छ। 

कारोबारको हिसाबले हेर्दा विगत ३ दिनमा दैनिक औसत १ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा कारोबार देखिन्छ। यसले बजारमा खासै प्यानिक सेल  नभइसकेको भन्न सकिन्छ।  

नोटः सेयर बजारमा लगानी जोखिमापूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।