काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

संस्थाले समीक्षा अवधिमा ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६.५६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो। 

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ६.७९ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँमात्र भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ७ करोड ४७ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी १८.७९ प्रतिशतले बढेर ९ करोड ४३ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको यस्तो आम्दानी ७ करोड ९४ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ४ अर्ब २९ करोड रुपैयाँ सापटी लिई ८७ लाख ४७ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ४३ करोड रुपैयाँ सापटी लिई ३० लाख ६४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ८० करोड ५१ लाख रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार २३.३२ प्रतिशतले बढाउँदै ७ करोड ७७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ६ करोड ३० लाख रुपैयाँ रहेको थियो।

संस्थाले खराब कर्जा (एनपीएल)मा सुधार गर्दै ०.२८ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिमा एनपीएल ०.६४ प्रतिशत थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १२.१५ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ६४.४५ रुपैयाँ रहेको थियो। 

पीई रेसियो ६९.५४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ ११५.५६ रुपैयाँ र तरलता अनुपात १.६९ प्रतिशत रहेको छ।