काठमाण्डौ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले फेरि एकपटक आममानिसलाई झट्का दिएको छ। 

आरबीआईले रिपो दर २५ आधार विन्दु वा ०.२५ प्रतिशत बढाएको हो। यसपछि सबै प्रकारका ऋण महँगो हुनेछन्। देशमा मुद्रास्फीति नियन्त्रणमा आएपछि पनि आरबीआईले ब्याजदर बढाउने निर्णय गरेको हो।

भारतमा मुद्रास्फीति दर घटेपछि पनि रिजर्भ बैंकले लगातार छैटौंपटक नीतिगत दर (रिपो रेट) बढाएको घोषणा गरेको छ। योसँगै रिपो दर ६.२५ प्रतिशतबाट बढेर ६.५० प्रतिशत पुगेको छ। यसको मतलब होम लोनदेखि अटो र पर्सनल लोनसम्म सबै महँगो हुनेछ र जनताले थप ईएमआई तिर्नुपर्नेछ। 

आरबीआई गभर्नर शक्तिकान्त दासले बुधबार तीन दिने एमपीसी बैठकमा भएका निर्णयहरु घोषणा गरेका छन्। विज्ञहरुले पहिले नै रेपो दरलाई २५ आधार बिन्दुले बढाउने सम्भावना देखाउँदै थिए। यसअघि गत डिसेम्बरमा भएको एपीसी बैठकमा ब्याजदर ५.९० प्रतिशतबाट ६.२५ प्रतिशतमा बढाइएको थियो। आरबीआईले गत वर्षदेखि ६ पटक रिपो दर बढाएको छ। कुल २.५० प्रतिशतले ब्याजदर बढेको छ।

केन्द्रीय बैंकको यो घोषणाको प्रभाव भारतीय सेयर बजारमा देखिएको छैन। यो समाचार लेख्दासम्म बीएसईको ३० सेयरको सेन्सेक्स परिसूचक ०.५१ प्रतिशत वा ३०६.९९ अंकले बढेर ६०५९३.०३ को स्तरमा कारोबार गरिरहेको छ। यससँगै एनएसईको निफ्टी पनि १०० अंक वा ०.५६ प्रतिशतले बढेर १७,८२१.५० को स्तरमा कारोबार गरिरहेको छ। –एजेन्सी