काठमाण्डौ । आर्थिक घोटाला काण्डमा साउदी अरबको शाही परिवारका दुई सदस्य र चार अधिकारीहरुलाई पदबाट हटाइएको छ।

साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले राजकुमार फहाद बिन तुर्कीसहित राजपरिवारका दुई सदस्यसहित ती अधिकारीहरुलाई पदबाट बर्खास्त गरेका हुन्। राजकुमार फहाद बिन तुर्की यमनमा साउदीको अगुवाइ सैन्यबलका कमान्डर थिए। 

फहाद बिनका छोरा अब्दुल अजिज फहादलाई पनि डेपुटी गर्भनर पदबाट हटाइएको छ।

साउदी रक्षा मन्त्रालयद्वारा सार्वजनिक आदेशमा शाही परिवारका यी दुई सदस्यले अन्य चार अधिकारीसँग मिलेर ‘संदिग्ध आर्थिक लेनदेन’ गरेका छन्। यस विषय थप अनुसन्धान गर्नका लागि उनीहरुले पदबाट बखास्त गरिएको आदेशमा उल्लेख छ। 

साउदी अरबका शासक तथा सर्वमान्य क्राउन प्रिन्स मोहम्मद बिन समालले सरकारमा व्याप्त भ्रष्टाचारविरुद्ध यो कठोर कदम उठाएका हुन्। यद्यपि आलोचकहरुले महत्वपूर्ण पदमा आसीन यी व्यक्तिहरुलाई बखास्त गरिनुमा क्राउन प्रिन्स सलमानको सत्ता सञ्चालनको बाटोमा हुन सक्ने अड्चन हटाउनु नै मुख्य उद्देश्य रहेको बताएका छन्।

सन् २०१६ मा सत्तामा आएपछि ३५ वर्षीय क्राउन प्रिन्स मोहम्मद बिन सलमानले रुढिवादी साउदी अरबको प्रगतिशील मानिने थुप्रै सामाजिक र आर्थिक निर्णय लिएका छन्। जसमा उनको अन्तर्राष्ट्रियस्तरमा सरहाना पनि भएको छ। – एजेन्सी