 
                     
                                
                             
                                    काठमाण्डौ । आर्थिक संकटमा फसेको श्रीलंकाले बिहीबारदेखि १३ घन्टा विद्युत कटौती गर्ने घोषणा गरेको छ। विद्युत कटौतीका साथै औषधिको अभावका कारण श्रीलंकाका अस्पतालहरुले नियमित शल्यक्रियाहरु रद्द गरेका छन्।
बुधबारमात्रै दैनिक १० घण्टा लोडसेडिङ निर्णय गरेको श्रीलंकाको विद्युत नियामकले एक दिन नबित्दै विद्युत कटौती बढाएको हो। थर्मल प्लान्ट सञ्चालनका लागि तेलको अभाव भएका कारण विद्युत कटौती गर्नुपरेको नियामकले जनाएको छ।
श्रीलंकले ४० प्रतिशतभन्दा बढी विद्युत जलजिद्युत आयोजनाबाट प्राप्त गर्ने गर्छ। तर, वर्षा नभएका कारण श्रीलंकाका जलाशयहरुमा पानीको स्तर घट्न थालेको अधिकारीहरुले बताएका छन्।
औषधिको अभावका कारण श्रीलंकाका दुई अस्पतालले नियमति शल्यक्रिया बन्द गर्ने निर्ण गरेका बताएका छन्। औषधिको आपूर्तिमा कमी आएको र आपतकालीन शल्यक्रियाका लागि औषधि जोगाउन नियमित शल्यक्रिया बन्द गरिएको अस्पताल प्रशासनहरुले जनाएका छन्।
त्यस्तै श्रीलंकाको सबैभन्दा ठूलो स्वास्थ्य सेवा भएको नेसनल हस्पिटल अफ श्रीलंकाले पनि नियमित स्वास्थ्य परीक्षण बन्द गरेको जनाएको छ।
इन्धन बचत गर्न विद्युत नियामकले देशमा रहेका १० लाखभन्दा धेरै सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न आह्वान गरेको छ। ‘इन्धन र विद्युत अभावको समस्यालाई व्यवस्थापन गर्न हामीले दुई दिनका लागि करिब १३ लाख सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छौँ’, पब्लिक युटिलिटिज कमिसन अफ श्रीलंकाका अध्यक्ष जनका रत्नानायकेले भने।
यतिबेला श्रीलंकासँग विदेशी मुद्राको सञ्चिती ७० प्रतिशतले घटेको छ। गत फेबु्रअरी महिनासम्ममा श्रीलंकासँग २.३१ विलियन डलरमात्रै मौज्दात छ। जसका कारण खाद्यान्न, इन्धनजस्ता अत्यावश्यक वस्तुहरु आयात गर्न श्रीलंकाले संघर्ष गरिरहनुपरेको छ।
सरकारले आयात गर्न लागेको ३७ हजार टन इन्धनको ५२ मिलियन डलर तिर्न नसक्दा विद्युत कटौती गर्नुपरेको रत्नानायकले बताए। ‘भुक्तानीका लागि हामीसँग विदेशी मुद्रा छैन। अबको दुई दिनमा विद्युत कटौती अझै बढ्न सक्छ। वास्तविकता यही नै हो’, उनले भने।
देशव्यापी प्रदर्शन
श्रीलंकाको प्रमुख इन्धन खुद्रा बिक्रेताले आगामी दुई दिनसम्मका लागि डिजेल नभएको जनाएको छ। निजी र सार्वजनिक सवारीका लागि इन्धनको माग गर्दै देशभर मानिसहरुले विरोध प्रदर्शन गरिरहेको श्रीलंकाका स्थानीय समाचार एजेन्सीहरुले बताएका छन्।
हिंसाको कुनै पनि घटना सार्वजनिक नभए पनि सयौँ मोटरसाइकल यात्रुहरुले देशका विभिन्न सहरमा सडक अवरुद्ध पारेको रिपोर्टमा उल्लेख गरिएको छ। यस्तै दर्जनौँ मानिस गर्भनर अजित काब्रालाई हटाउनुपर्ने माग राख्दै कोलम्बोमा रहेको केन्द्रीय बैंकबाहिर प्रदर्शन गरिरहेका छन्।
सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेसनले लाइनमा बसेका मोटरसाइकल यात्रुहरुलाई फर्किन आग्रह गर्दै आयातीत डिजेल अनलोड र वितरण गरेपछि मात्रै लाइनमा बस्न आह्वान गरेको छ।
श्रीलंकामा इन्धनको मूल्य निरन्तर वृद्धि भइरहेको छ। पेट्रोलको मूल्य झन्डै दोब्बरले वृद्धि भएको छ भने डिजेलको मूल्य ७६ प्रतिशतले वृद्धि भएको छ।
श्रीलंकाले वैदेशीक ऋण भुक्तनीका लागि विदेशी मुद्रा बचत गर्न सन् २०२० मार्चमा आयातमा भारी बन्देज लगाएको थियो। तर, यो निर्णयले अत्यावश्यक वस्तुहरुको चरम अभाव सिर्जना हुन गयो र मूल्यमा समेत उच्च वृद्धि भयो।
आर्थिक संकटबाट बाहिरिन श्रीलंका सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयोग माग्नुका साथै चीन र भारतसँग थप ऋण मागेको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19