काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक स्थायित्व हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने धारणा राखेका छन्। 

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)ले आज काठमाण्डौमा आयोजना गरेको आउँदै गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथिको छलफलमा वरिष्ठ उपाध्यक्ष ढकालले आर्थिक स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका हुन्। ‘महँगी बढेको छ र तलरता पनि अभाव छ’, उनले भने, ‘यस्ता अवस्थामा राष्ट्र बैंकले महँगी नियन्त्रण र तरलता सहज हुने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ।’

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रका अधिकांश माग सम्बोधन भएको पनि ढकालले बताए। ‘चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित हुन आवश्यक छ’, उनले भने। 

निर्यातलाई बढाउने, एसएमईलाई प्राथमिक दिने, कृषि, जलविद्युत र पूर्वाधारलगायतका क्षेत्रलाई उचित सम्बोधन हुने गरी मौद्रिक नीति आउनुपर्ने ढकालको भनाइ थियो।