काठमाण्डौ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्तिममा १४ अंकले घटेर बन्द भएको छ। 

पछिल्लोपटकको बजारलाई प्राविधिक रुपमा डेली बेसका आधारमा हेर्दा लङ अपर स्याडो अर्थात माथि लामो धागोसहितको आकृतिका क्यान्डलहरु बनेका छन्। यसले घट्दो बजारलाई संकेत गर्छ। 

आवरली बेसमा हेर्दा आज दिनभरको कारोबारमा बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डबाट तल झरेको र पटक–पटक माथि जाने कोसिस गरेको तर नसकेको देखिन्छ। मध्य ब्यान्डबाट तल झरेको बजारले अब आगामी कारोबारमा बोलिंगरको तल्लो ब्यान्ड अर्थात् २०२२ मा सपोर्ट लिन सक्छ। 

अवरली बेसमै म्याक्डीमार्फत हेर्दा मंगलबारको कारोबारमा बजारले बियरिस क्रसओभर बनाएको थियो भने बुधबारको कारोबारमा हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्। आरएसआईमार्फत हेर्दा बजार ओभरबट जोन ८० बाट खसेर ४९ को तहमा आएको छ। घट्दो बजारमा यस्तो विन्दु ओभरसोल्ड जोन ३० सम्म आउन सक्छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा अल्पकालमा बजार केही करेक्सन भएको देखिन्छ।

बजारलाई मनी फ्लो इन्डेक्समार्फत हेर्दा पनि घट्दो क्रममा ४७ को तहमा रहेको देखिन्छ। मनी फ्लो इन्डेक्सले प्राइस र भोलुम दुवैमा गिरावट आएको बुझिन्छ। मनी फ्लो इन्डेक्समा ८० भन्दा माथिको तहलाई ओभरबट र २० भन्दा तलको तहलाई ओभरसोल्ड जोन रहेको बुझिन्छ। बजारको हालको यस्तो इन्डेक्स घट्दो क्रममा ४७ को न्युट्रल तहमा रहेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।