काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै निरन्तर बढेको थियो। अन्तिम समयमा ६२ अंकले बढेर बजार बन्द भएको छ। 

कारोबार तथा भोलुमबाट हेर्दा ५ महिनापछि आज उच्च कारोबार भएको छ। गत जनवरी १० मा ७ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको थियो। आज बजारमा ६ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ। यो हिसाबले बजारमा लामो समयपछि उच्च कारोबार भएको छ। यसले बजारले पुनः बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्ने हो भने पुनः करेक्सनपछि बजारले माथिको यात्रा तय गर्दै गरेको देखिन्छ। 

बोलिंगर ब्यान्डको आवरली चार्टमा हेर्ने हो भने आज बजार मध्य ब्यान्ड ब्रेक गरेर माथि अप्पर ब्यान्डतर्फ गएको छ। अब बजार अप्पर ब्यान्डसँगसँगै हिँड्नुपर्नेछ।

म्याक्डीमार्फत हेर्ने हो भने अघिल्लो साता बियरिस क्रसओभर बनाएको बजारले आज फेरि बुलिस क्रसओभर बनाएको छ। आज हिस्टोग्राम पनि सकारात्मक बनेको छ। 

आरएसआईमार्फत हेर्दा न्युट्रल विन्दु ५० को तहबाट फर्केर पुनः ६७ को तहमा पुगेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारले पुनः एकपटक माथिको यात्रा तय गर्दै गरेको देखिन्छ। बजारलाई सुपर ट्रेन्ड, इचिमोकुजस्ता सबै इन्डिकेटरले बुलिस संकेत गरेका छन्। 

पिभटमार्फत हेर्दा बजारले आज २१०२ को पहिलो प्रतिरोध ब्रेक गरेर २११७ माथि बन्द भएको छ। योसँगै बजारले अब दोस्रो प्रतिरोध २१५० तथा तेस्रो प्रतिरोध २१८२ मा लिन सक्छ। 

यदि घट्छ भने बजारले पिभट प्वइन्ट क्रमशः २०७०, २०२३ र १९९० मा सपोर्ट लिन सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।