काठमाण्डौ । जापान, दक्षिणकोरिया, साइप्रस, अमेरिका लगायत विश्वका बिभिन्न देशबाट नेपाल रेमिट्यान्स सेवा दिंदै आएको इजीलिंक रेमिट्यान्सले गरिमा विकास बैंकसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । 

सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र गरिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकालले हस्ताक्षर गरे । 

इजीलिंक रेमिट्यान्सले विगत लामो समयदेखि  विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले गरिमा विकास बैंकसंगको रेमिट्यान्स भुक्तानी सम्झौताले नेपाली दाजुभाइ दिदीबहिनीहरुले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन थप सहज बनाउने र आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै निजी कम्पनीहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीब्र पार्नुका साथै अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तीव्र रुपमा अघि बढिरहेको जानकारी गराए । 

यो सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट इजीलिंक रेमिट्यान्समार्फत पठाएको रकम अब गरिमा विकास बैंकको देशभरका ६० भन्दा धेरै शाखाहरुबाट साथै इजीलिंक रेमिट्यान्सको ५००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले बताए ।