काठमाण्डौ। विश्वभर तेलको मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न ओपेकले आवश्यक कदम चाल्न सक्ने भएको छ। 

इन्धनको मूल्यवृद्धिबाट आक्रान्त बनेका ग्राहकका लागि गोल्डम्यान स्याक्सले ओपेक प्लसले बुधबार गर्न लागेको भर्चुअल बैठकमा तेलको उत्पादनसम्बन्धी महत्वपूर्ण निर्णय लिन सक्ने जानकारी दिएको हो। यतिबेला तेलमा मूल्यवृद्धि भइरहेको छ र यसलाई नियन्त्रण गर्न ओपेक र यसका साझेदारहरुमाथि दबाब परेको छ। 

तेलको मूल्यले राजनीतिक दबाबको सामना गरिरहेको जनाउँदै गोल्डम्यान स्याक्सले ओपेक प्लस मासिक ४ लाख ब्यारेल उत्पादन वृद्धि गर्ने योजनामा अडिग नरहने जनाएको छ। तेल आयात गर्ने मुलुकहरुको दबाबका कारण आपेक प्लसले तेलको उत्पादन वृद्धि गर्न सक्ने गोल्डम्यान स्याक्सको ठहर छ। 

रुस–युक्रेन तनावका कारण गत सोमबार अमेरिकी तेलको मूल्य सन् २०१४ पछिकै उच्च विन्दुु अर्थात प्रतिब्यारेल ८८ डलर पुगेको छ। त्यस्तै ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ९० डलर पुगेको छ। 

ग्यासोलिनको नेसनल एभरेज मूल्य पनि प्रतिग्यालोन ३.३८ डलर पुगेको छ। 

ओपेके प्लसले आवश्यक कदम चाले पनि तेलको तातिरहेको मूल्य कमैमात्रै सेलाउने जनाइएको छ। ओपेक प्लसले उत्पादन बढाए पनि तेलको मूल्य प्रतिब्यारेल ३ डलर घट्ने गोल्डम्यान स्याक्सले जनाएको छ। यदि साउदी अरबले दुईपक्षीय रुपमा तीन महिनाका लागि तेलको उत्पादन ५ लाख ब्यारेल बढाउने निर्णय गर्यो भने मूल्यको गिरावट प्रतिब्यारेल ३ डलरभन्दा कम हुने गोल्डम्यानले जनाएको छ। –एजेन्सी