काठमाण्डौ । सेञ्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तिको अन्तिम स्वीकृति पाएसँगै एकीकृत बित्तीय कारोबारको तयारी थालेको छ । 

यो बैंकलाई २ विकास बैंक प्राप्तिको अन्तिम स्वीकृति राष्टबैंकले जेठ १८ गते दिएको थियो । अन्तिम स्वीकृति पाएसँगै यी दुुई विकास बैंकलाई गाभेर आगामी जेठ २८ गतेदेखि संयुक्त कारोबार सुरु गर्ने सेञ्चुरीले तयारी थालेको हो । 

दुुई विकास बैंकलाई गाभेर यो बैंकले सेञ्चुरी कमर्सियल बैंककै नाममा संयुक्त बित्तीय कारोबार सुरु गर्नेछ । 

सेञ्चुरी बैंकले इन्नोभेटिभलाई १०० : ८५ र अरनिकोलाई १००ः९० को सेयर स्वाप अनुपातमा गाभ्ने भएको हो । 

एकीकृत बित्तीय कारोबारका लागि एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउन जेठ २७ गते इन्नोभेटिभ र अरनिको बैंकका शाखाहरुले प्रदान गर्दै आएको सेवा बन्द हुने बताइएको छ । 

इन्नोभेटिभ र अरनिको प्राप्तिपछि सेञ्चुरी बैंकको चुक्तापूँजी चार अर्ब ७१ करोड ३५ लाख पुग्नेछ । प्राप्तिपछि कायम हुने चुक्तापुँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्ने बैंकले यसअघि नै घोषणा गरिसकेको छ । 

यो बैंकले अल्पाइन डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स र पछिल्लो पटक सेती फाइनान्सलाई समेत प्राप्ति गर्ने सम्झौता गरिसकेको छ । यसरी ४० प्रतिशत हकप्रद, यी संस्थाको प्राप्ति, गत वर्षको बोनसबाट गरी यो बंैकको चुक्तापूँजी ७ अर्ब माथि पुर्याउनेछ । 

सेञ्चुरी बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ३१ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ ।