काठमाण्डौ । एनआइडिसी क्यापिटल मार्केट्स लिमीटेडलाई प्राप्तिपछि सनराइज बैंकले पहिलो त्रैमासिक रिपोर्ट(बैंकको चाहि तेश्रो त्रैमासिक रिपोर्ट) सार्वजनिक गरेको छ ।

शुक्रबार प्रकाशित बित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ बैंकले ४७.१० प्रतिशतको प्रगति हासिल गरेको छ । यो बैंकको यो अवधिमा खुद नाफा ८५ करोड ७९ लाखको उचाईमा पुगेको छ ।

चालु आबको तेश्रो त्रैमासमा यो बैंकले ५८ अर्ब ६ करोड निक्षेप संकलन गरी ५० अर्ब ८६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेपतर्फ करिब ४१ प्रतिशत र कर्जातर्फ करिब ४७ प्रतिशतको प्रगति हासिल भएको हो ।

अघिल्लो वर्ष यही अवधिमा खुद ब्याज आम्दानी १ अर्ब २ करोड रहेकोमा यो वर्ष बढेर १ अर्ब ६२ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्षसम्म २.२८ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपात घटाएर यो वर्ष १.५० प्रतिशतमा झारेको छ ।

एनआइडिसी क्यापिटल मार्केट्स लिमीटेडलाई गाभेपछि यो बैंकले प्रति सेयर आम्दानीलाई सन्तुलित बनाउन सकेको छैन । यही कारण तेश्रो त्रैमाससम्म प्रति सेयर आम्दानी २० रुपैयाँ ९८ पैसामा सीमित बन्न पुगेको छ । यो अवधिमा प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ ८३ पैसा र मूल्य आम्दानी अनुपात २७.१७  गुणा कायम भएको छ ।

अघिल्लो वर्षको यो अवधिमा बैंकको चुक्तापुँजी ३ अर्ब ३३ करोड थियो । एनआइडिसीलाई गाभेपछि ५ अर्ब ४५ करोडको उचाईमा पुगेको छ । जगेडा कोष १ अर्बबाट बढेर २ अर्बको उचाईमा पुगेको छ ।