काठमाण्डौ । सेयरको दोश्रो बजार कारोबारमा लगानीकर्ताहरुले कतिपय कम्पनीको अवस्था नहेरी निर्णय लिने गर्छन् । यहीकारण सोझा र नवप्रवेशीहरु खराब कम्पनीमा समेत फस्न पुुग्छन् । विगत एकमहिनाको कारोबारमा केही दिन लगानीकर्ताको रोजाई बनेको युनियन फाइनान्सको आर्थिक वर्ष २०७३/७४ को प्रगति हेर्दा लगानीकर्ता खराब संस्थामा कसरी फस्छन् भन्ने देखिन्छ । 

यो फाइनान्सको समीक्षा अवधिमा ४ लाख घाटा व्यहोरेको छ । अघिल्लो वर्ष ३ करोड १ लाख घाटा व्यहोरेको कम्पनीले घाटालाई निकै तल झारे पनि अन्य सूचकहरु अत्यासलाग्दा छन् । 

यो अवधिमा फाइनान्स १ करोड संचालन घाटामा छ । अघिल्लो वर्ष यस्तो घाटा २ करोड ६५ लाख घाटामा थियो । 

अघिल्लो वर्ष १ करोड ९१ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर २ करोड ६० लाख पुुगेको छ।

संभावित जोखिम व्यवस्थापन बापत सञ्चित गरिएको प्रोभिजनबाट ७६ लाख ७४ हजार राइट ब्याक हुँदा  समेत यो कम्पनी नाफा जान सकेन । 

यो अवधिमा युनियन फाइनान्सले ८० करोड १६ लाख निक्षेप संकलन गरी ५४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ९४ करोड ११ लाख निक्षेप संकलन गरी ५० करोड १४ लाख कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीको जगेडाकोष पनि ऋणात्मक छ । यो कम्पनीको जगेडाकोष ५ करोड ३७ लाख ऋणात्मक छ । 

युनियन फाइनान्समा खराब कर्जाको थुप्रो लागेको छ । अघिल्लो वर्ष १९.०९ प्रतिशत रहेको यस्तो कर्जा घटेर १७.१७ प्रतिशतमा झरे पनि यो सीमा भन्दा निकै अत्यासलाग्दो अवस्थामा रहेको हो । 

समीक्षा अवधिमा युनियन फाइनान्सको प्रतिसेयर आम्दानी(इपीएस) २३ पैसा, प्रतिसेयर नेटवर्थ  ४३.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात(पीई रेसियो) ७७३.९३ गुणा कायम भएको छ ।