काठमाण्डौ । स्वाभिमान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले गत वर्षको खूद घाटाको अवस्थाबाट आफूलाई सुधार गर्दै नाफा आर्जनको सफलता पाएको छ । 

आर्थिक वर्ष २०७४/७५ मा यो कम्पनीको नाफा २ लाख ५५ हजार भएको हो। अघिल्लो वर्ष कम्पनी ३५ लाख ८० हजार खूद घाटामा थियो । 

यस्तै, यो कम्पनीले संचालन मुनाफा समेत आर्जन गरेको छ । अघिल्लो वर्ष ३५ लाख ८४ हजार संचालन घाटामा रहेको कम्पनीले आफूलाई सुधार गरी २ लाख १० हजार संचालन नाफा आर्जन गरेको हो । 

झिनो मात्र नाफा भएको यो कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)मा ९७ प्रतिशतको पहिरो गई ६१ पैसामा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ ९४ पैसा मात्र रहेको छ । 

समीक्षा अवधिमा स्वाभिमान माइक्रोफाइनान्सले ११ करोड ८३ लाख निक्षेप संकलन गरी तथा ३५ करोड सापटी लिई ४२ करोड ७५ लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४७ लाखको हाराहारीमा निक्षेप संकलन गरी तथा ७ करोड ५० लाख सापटी लिई ५ करोड १६ लाख मात्र कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा कम्पनीको रिजर्बकोष २६ लाख ७७ हजारले ऋणात्मक बनेको छ भने १ लाख ४१ हजार खूद ब्याज घाटा रहेकोमा १ करोड ३८ लाख खूद ब्याज आम्दानी गरेको छ । 

कम्पनीमा ०.०२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ०.०५० को विन्दूमा पुगेको छ भने १ करोड ४० लाखमा सीमित चुक्तापूँजी बढेर ४ करोड २० लाखको उचाईमा पुगेको छ । 
*(यसअघिको समाचारमा खूद नाफा, संचालन मुनाफा सम्बन्धी तथ्यांक गलत पर्न गएकोमा भूल सुधार गरिएको छ -सम्पादक)