काठमाण्डौ । इराकस्थित अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको मिसाइल हमलापछि कच्चा तेलको मूल्यमा उछाल आएको छ । 

बीबीसीका अनुसार एशियन बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशतको उछाल आएको हो । योसँगै कच्चा तेलको मूल्य प्रति ब्यारेल ६९.९४ डलरको उचाईमा पुगेको छ । 

मध्यपूर्वबाट तेलको आपूर्ति रोकिने चिन्ताको बीच कच्चा तेलको मूल्यमा यसरी उछाल आएको हो । 

योसँगै सुनको मूल्यमा पनि उस्तै उछाल आइरहेको छ । 

तर, इरानले गरेको हमलाको खबरपछि अन्तराष्ट्रिय सेयर बजारमा भने नकारात्मक असर परेको देखिएको छ । 

यो खबरपछि जापाको निकेई २ प्रतिशतले घटेको छ । हङकङको बजार परिसूचक हेङसेङमा पनि १ प्रतिशतको गिरावट आएको बताइएको छ । 

इरानको सरकारी टेलिभिजनले भनेको छ कि अमेरिकी सैन्य क्याम्पमाथिको यो हमला उनीहरुका टप कमाण्डर कासिम सुलेमानीको हत्याको बदलामा गरिएको हो । 

इरानले यो हमला सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो । शुक्रबार अमेरिकाले ड्रोनबाट हमला गरी कासिम सुलेमानीको हत्या गरेको थियो । सुलेमानीको मृत्युपछिदेखि नै अमेरिका र इरानबीचको तनाव अझै बढ्ने आँकलन गर्न थालिएको थियो । 

यस्तै, यो पनि मान्न थालिएको छ कि यो घटनापछि विश्वभर हुने तेलको आपूर्ति ठप्प हुनसक्नेछ ।

साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट विश्वभर तेलको निर्यात हरमुज क्षेत्रबाट हुने गरेको छ। इरानले पनि ज्यादातर यही बाटोबाट तेलको निर्यात गर्ने गर्दछ । 

अमेरिका र इरानबीचको तनावका कारण भारतले आयात गर्ने तेल समेत नआउन सक्छ । नेपालले भारतबाट तेल आयात गर्ने भएकोले यो तनावले नेपालमा समेत तेलको हाहाकार मच्चिन सक्छ । 

भारतले सबैभन्दा बढी परिमाणमा तेल मध्यपूर्वी देशबाटै मगाउँछ । सबैभन्दा बढी इराकबाट भारतमा तेल आउने गर्छ । यसबाहेक साउदी अरब, ओमान र कुवेतबाट पनि तेल आउने गर्छ । यी सबै देशको तेल निर्यात हुने मुख्य बाटोमै युद्धको प्रभावमा परेपछि यी क्षेत्रबाट तेल आयात बन्द हुनसक्छ । 

त्यसो त भारतले अमेरिका र रुसबाट समेत तेल आयात गर्ने गर्छ । 

भारतजस्तो उदीयमान अर्थतन्त्रका लागि कच्चा तेलको मूल्यमा हुने तीव्र बढोत्तरी खतराको सूचक रहेको त्यहाँ विश्लेषकहरुले बताइरहेका छन् ।

तेलको मूल्य यसैगरी बढ्दै गयो भने यसबाट भारतको अर्थतन्त्र नै तहसनहस हुनसक्ने दाबी गर्नेहरु पनि अगाडि आइरहेका छन् । व्यापारको अधिकांश निर्भरता भारतमा निहीत रहेको नेपाललाई त्यस्तो अवस्था भयो भने अझै बढी अप्ठ्यारो पर्नेछ ।