– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपालका ४ वटा थोक लघुवित्त संस्थामध्ये फर्स्ट माइक्रोफाइनान्स पनि एउटा हो। यो संस्था २०६६ साल पुस २४ गते काठमाण्डौलाई आधार बनाएर स्थापना भएको थियो। यो संस्थाले न्यून आम्दानी भएका विभिन्न वार्गलाई अवसर र स्रोत प्रदान गर्ने गर्छ। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको चुक्तापुँजी १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ, रिटेन अर्निङ १६ करोड ६८ लाख रुपै र जगेडा कोषमा २६ करोड ६२ लाख ७२ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २२.६६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २३.८५ गुणा रहेको छ। 

संस्थाको प्रतिसेयर नेटवर्थ १३७.७३ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात (एनपीएल) ०.४७ प्रतिशत रहेको छ। समीक्षा अवधिमा संस्थाले ५० करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

हाल संस्थाको रिटर्न अन इक्विटी १६.४१ प्रतिशत रहेको छ। संस्थाको १० वर्षको औसत वार्षिक लाभांश दर १५.३ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष 

इलिअट वेभका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण मानिन्छ।  

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्।

वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ ले बजार तल जाने संकेत गर्छन्। यो संस्थाको हालको अवस्थालाई माइनर डिग्रीअन्तर्गत नियाल्दा वेभ–१ मा संस्थाको सेयरभाउ पछिल्लोपटकको न्यून मूल्य ५०० रुपैयाँदेखि ७५० रुपैयाँसम्म पुगेको देखिन्छ। वेभ–२ मा करेक्सन भएर सेयरभाउ करिब ५०० रुपैयाँसम्म नै आएको देखिन्छ। त्यसपछि वेभ–३ मा बढोत्तरी सेयरभाउ पुनः ९०० रुपैयाँसम्म पुग्न सक्ने र वेभ–४ मा केही करेक्नस भएर फेरि ८०० रुपैयाँसम्म  आउन सक्ने देखिन्छ। वेभ–५ मा पुनः बढेत्तरीका साथ यो संस्थाको सेयरभाउ अबको एक–डेढ वर्षमा ११५० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। त्यसपछि भने ए, बी र सी चलेर केही करेक्सन आउन सक्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डमार्फत हेर्दा यो संस्थाको सेयरमूल्यमा बोलिंगरको अपर ब्यान्डमा डार्क क्लाउड कभर बनेपछि केही करेक्सन आएको छ। २ वटा राता क्यान्डलपछि ह्याम्मर प्रकृतिको क्यान्डल बनेकोले यो संस्थाको सेयरभाउले पुनः माथिको यात्रा तय गर्न सक्ने देखिन्छ। हिस्टोग्राम सकारात्मक तर केही फिक्का भएका छन्।  

म्याक्डीमार्फत संस्थाको सेयरभाउमा केही समयपहिले बनेको बुलिसक्रस भ्यालिड नै रहेको देखिन्छ। आरएसआईमार्फत हेर्दा ८२ को ओभरबट जोनबाट खसेर हाल ६६ को तहमा पुगेको देखिन्छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा यो संस्थाको सेयरभाउ लामो समयदेखि बुलिय यात्रामा चलेको देखिन्छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डमार्फत हेर्दा फर्स्ट माइक्रोफाइनान्सको सेयरभाउ केही समयपहिलेदेखि नै बुलिस बनेको देखिन्छ। डेली चार्टमा संस्थाको सेयरभाउ गएको मे महिनादेखि बुलिस यात्रामा चलेको देखिन्छ। योसँगै मूल्यरेखाहरु सुपर ट्रेन्डबाट माथि गएका छन् भने सुपर ट्रेन्डको रङ पनि हरियो बनेको छ। 

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –१०९०
  • प्रतिरोध २ –९३५
  • प्रतिरोध १– ८२९

पिभट प्वइन्ट: ६७५

घटेमा सपोर्ट 

  • सपोर्ट १– ५७०
  • सपोर्ट २– ४१५
  • सपोर्ट ३ –३०९

निष्कर्ष

फर्स्ट माइक्रोफाइनान्स आधारभूत रुपमा पनि बलियो र राम्रो नै रहेको देखिन्छ। वित्तीय सूचक पनि सन्तोषजनक रहेको यो संस्थाको खराब कर्जा १ प्रतिशतभन्दा तल छ। तर, संस्थाको रिटर्न अन इक्विटी भने अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य रुपमा खस्केको देखिन्छ। संस्थाको खुद मुनाफा र जगेडा कोषमा भने सुधार देखिन्छ। 

प्राविधिक रुपमा यो संस्थाको सेयरभाउ दोस्रो बजारमा फियर एन्ड ग्रिड मिटरका आधारमा बुलिस सेन्टिमेन्ट रहेको छ। सुपर टे«न्डलगायत अन्य इन्डिकेटरबाट पनि बुलिस नै देखिन्छ। इलिअट वेभमार्फत हेर्दा संस्थाको सेयरभाउ करिब–करिब अबको एक–डेढ वर्षमा ११०० रुपैयाँको आसपास पुग्न सक्ने देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।