काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डई मोटरले आउँदो समयमा इलेक्ट्रिक कारको बिक्री बढाउनका लागि नयाँ-नयाँ तरिका अपनाइरहेको छ। 

हुन्डई मोटरले सन् २०३० सम्म हरेक वर्ष २० लाख इलेक्ट्रिक कार बेच्ने लक्ष्य राखेको छ। यसै साता सीईओ इन्भेस्टर डे आयोजना गरेको कम्पनीले दीर्घकालीन व्यापार रणनीति र वित्ती योजनाहरुका बारेमा जानकारी गराएको थियो। 

हुन्डईको ग्लोबल ईभी प्रडक्सन सन् २०२३ मा ८ प्रतिशतले बढाएर सन् २०३० सम्म ३४ प्रतिशत पुर्याउने योजना कम्पनीको छ। यसका लागि विश्वभर ईभी बनाउने प्लान्ट बनाउने र विस्तारै पेट्रोल–डिजेल कारको ठाउँमा इलेक्ट्रिक करमा फोकस बढाउने कम्पनीको योजना रहेको छ। 

अहिले पनि इलेक्ट्रिक कारको तुलनामा पेट्रोल–डिजेल कारको माग बढी रहेको छ। यो अवस्थामा कम्पनीले मिश्रित आधारमा ईभी उत्पादन गरिरहेको छ। 

आउँदो समयमा ईभीको माग बढेपछि परिस्थिति फेरिनेछ। कम्पनीले मुख्य क्षेत्रहरुमा सेल्स टार्गेट बढाएको छ र मार्केट डिमान्डअनुसार आफ्नो बिक्री लक्ष्य अड्जस्ट गर्ने तयारी गरिरहेको छ। 

हाल हुन्डई मोटरले अमेरिका, दक्षिण कोरिया, चेक गणराज्य र भारतमा आफ्नो प्लान्टमा इलेक्ट्रिक कार उत्पादन गरिरहेको छ। सन् १९६७ मा स्थापित यो कम्पनी हाल २०० भन्दा बढी राष्ट्रमा आफ्नो अलग–अलग सेगमेन्टको कार बेच्दै आएको छ। –एजेन्सी