काठमाण्डौ । चिनियाँ बजारबाट विद्युतीय कार निर्माता कम्पनी टेस्लाको १६ लाख युनिट बढी कार फिर्ता मगाइने भएको छ ।

कारको अटोपाइलट फिचर्स र लकमा आएको समस्यालाई ठीक पार्न चिनियाँ बजारबाट कार फिर्ता मगाउन लागिएको हो।

यी दुवै समस्यालाई निःशुल्क रुपमा ‘ओभर–द–एयर’ सफ्टवेयर अपटेडमार्फत समाधान गरिने जनाइएको छ ।  

चीनको बजार नियामक सरकारी प्रशासनले बजारबाट टेस्लाको मोडल एस,मोडल एक्स,मोडल थ्री र मोडल वाईका कारहरु फिर्ता मगाउन लागिएको जनाएको छ ।

यी मोडलहरुमा चालकले ‘ड्राइभिङ असिस्टेन्ट फिचर्स’को दुरुपयोग गर्न सक्ने भएकाले यसले ठोकिने र सुरक्षा जोखिम निम्त्याउने जस्ता घटना वृद्धि हुने नियामकले जनाएको छ । 

यसअघि मोडल एस र मोडल एक्सका ७ हजार ५०० भन्दा बढी युनिट कार दुर्घटनाका बेला नठोक्किएको भागको ढोका खुल्ने समस्याका कारण फिर्ता मगाइएको थियो । 

शुक्रबार टेस्लाको सेयरमूल्यमा १ प्रतिशतको गिरावट आएको थियो ।-एजेन्सी