काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माण कम्पनी क्याटएलको सेन्सिङ ब्याट्रीले ‘टेक्नोवेष्ट २०२४ अवार्ड’ जितेको छ । 

अटोवेष्टको अन्तराष्ट्रिय निर्णायक प्यानलले क्याटएलको सेन्सिङ ब्याट्रीलाई विद्युतीय सवारी(ईभी) को ब्याट्री निर्माणका लागि यो अवार्ड प्रदान गरेको हो । निर्णायक प्यानलमा ३१ वटा युरोपेली राष्ट्रका जुरी सदस्यले मतदान गरेका थिए । 

कुनै पनि ब्याट्री प्रडक्टले ‘टेक्नोवेष्ट’ अवार्ड जितेको यो पहिलोपटक हो । र चीनमा आधारित कम्पनी क्याटएल यो उपाधि जित्ने पहिलो बनेको छ ।   

अटोवेष्ट युरोपको सबैभन्दा प्रतिष्ठित अटो जुरी हो । अटोवेष्टले सन् २००१ देखि अवार्ड प्रदान गरिरहेको छ । जुरीमण्डले सेन्सिङलाई अभुतपूर्व नविनताका लागि अवार्ड प्रदान गरेको हो । 

क्याटएलले १० मिनेटमा ४०० किलोमिटर ड्राइभिङ रेञ्ज प्रदान गर्ने र एकपटक चार्ज हुँदा ७०० कुद्ने विश्वकै पहिलो फोरसी सुपरफास्ट चार्जिङ एलएफपी ब्याट्री सेन्सिङ लञ्च गरेको छ । 

सेन्सिङले विद्युतीय सवारी साधनका प्रयोगकर्तामा व्याप्त रहेको फास्ट चार्जिङ सम्बन्धि चिन्तालाई अन्त्य गर्ने विश्वास गरिएको छ । सेन्सिङले ईभी सुपरफष्ट चार्जिङको नयाँ युगको सुरुवात गरेको कम्पनीले जनाएको छ । 

संस्थापक रोबिन जेङले नेतृत्व गरेको कम्पनी क्याटएल ब्याट्री उद्योगमा अभूतपूर्व नविनताका लागि परिचित छ । कम्पनीको सेन्सिङ ब्याट्री नयाँ क्रान्ति भएको र यसको तिव्र चार्जिङ,उत्तम उर्जा घनत्व र उच्च तहको सुरक्षाका  कारण विश्वभरका ग्राहकहरु लाभान्वित हुने अटोवेष्टका संस्थापक तथा अध्यक्ष भारडिले बताएका छन् । 

सेन्सिङ ब्याट्री गत अगस्ट महिनामा लञ्च भएको थियो । क्याटएलले सेन्सिङ ब्याट्री आपूर्तीका लागि नेटा, चेरी बाइस,बिजेईभी,जीडु र भोया जस्ता कार निर्माता कम्पनीहरुसँग सहकार्य गरेको छ । 

सेन्सिङ ब्याट्री जडान भएका विद्युतीय सवारी साधनहर सन् २०२४ को पहिलो त्रैमासमा बजारमा उपलब्ध हुनेछन् ।