काठमाण्डौ । तपाईंले भविष्यमा उड्ने ट्याक्सीमा चढेर घुमफिरका लागि जाने कल्पना गर्नुभएको थियो ? सपनामा कारमा उडेर कतै गएको त पक्कै देख्नुभएको होला ! अब यो सपना साकार हुन धेरै समय नलाग्ने भएको छ ।

हुन त हामीले हलिउडका विभिन्न चलचित्रमा उड्ने कार देखेकै छौं । यसलाई विशेषज्ञहरूले ‘कार चलाउने अनुभवमा तेस्रो आयाम’ भनेर वर्णन गरेका छन् ।

चीनले विश्वमै पहिलो पटक ट्याक्सी अर्थात् उड्ने कारलाई सरकारी मान्यता दिएको छ । गत शुक्रबार चिनीयाँ उड्डयन प्राधिकरणले ईहाङ कम्पनीको ‘ईएच २१६ एस’ नामक एयर ट्याक्सीलाई हवाई योग्यता प्रमाणपत्र दिएको छ ।

यसअघि क्वाङचाउस्थित एक्सफेङ इंकको उड्ययन सम्बद्ध कम्पनीले विकास गरेको एक्सफेङ एक्स- २ नामक ट्याक्सीको दुबईमा परीक्षण गरिसकेको छ ।

‘अहिले हामीले कल्पना मात्रै गरिरहेको चालक रहित विद्युतीय सवारी साधनले कुनै दिन सवारी साधनहरुको चाप थेगिनसक्नु बनेका सडकमाथि यात्रीहरुलाई उडान सेवा दिन सक्छन् । तर यो उद्योगसामु ब्याट्रीको आयु, हवाई ट्राफिक नियन्त्रण र सुरक्षा, पूर्वाधार समस्या लगायत अनेकौं चुनौतीहरु छन्’, कम्पनीले भनेको छ ।

ठूलो आकारको ड्रोनजस्तै देखिने यो ट्याक्सी विद्युतबाट चल्छ र पाइलटको आवश्यकता पर्दैन । त्यस्तै उडाउन तथा अवतरण गर्न एयरपोर्ट वा रनवे पनि चाहिंदैन ।विद्युतीय उड्ने कार वा ट्याक्सी हवाईजहाज वा हेलिकप्टर जस्तो गरी उड्दैनन् । यिनीहरुले ठाडै अवतरण र उडान गर्छन् ।

घरको छत, पार्क र समथर क्षेत्र भएका स्थानबाट यसलाई उडाउन सकिन्छ ।यसलाई कार जसरी नै आफ्नो घरको ग्यारेजमा पार्कसमेत गर्न सकिन्छ । यसको प्रयोग खासगरी दुर्गम क्षेत्रमा यात्रु, खाद्यान्न तथा आपतकालीन सामग्री ओसारपसार गर्ने कार्यका लागि उपयोगी हुने विश्वास छ । यो ट्याक्सी ८० माइल प्रतिघण्टाको गतिमा उड्ने बताइएको छ । 

यो ट्याक्सी करिब दुई घण्टामा फुल चार्ज हुने बताइएको छ । तर कम्पनीले कहिलेबाट व्यावसायिक उडान गर्छ भन्नेबारे केहि जानकारी दिएको भने छैन ।

अमेरिकाको मासाच्युसेट्स राज्यमा रहेको टेराफुजिया कम्पनी पनि अहिले उड्ने कारको परीक्षणमा ब्यस्त छ ।यसलाई कम्पनीले परीक्षण अवधिमा भने उड्ने कार (फ्लाइङ कार) भन्दा ‘रोडेबल एयर प्लेन’ को नामबाट चिनाउन चाहेको छ ।

उता बेलायती इञ्जिन निर्माता कम्पनी रोल्स–रोयस पनि उड्ने ट्याक्सी बनाउने दौडमा होमिएको छ ।  यतिमात्र होइन अहिले विश्वभर दर्जनौं उड्ने कार परियोजना चलिरहेको छ । -एजेन्सीहरु