काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ सामान्य प्रगति गर्दै १ अर्ब १० करोड कमाएको छ ।

अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ९५ करोड ३ लाख कमाएको बैंकले यो वर्ष १ अर्ब १० करोड खुद नाफा आर्जन गरेको हो । बैंकले खुद ब्याज आम्दानीतर्फ भने करिब २७ प्रतिशतको प्रगति हासिल गरेको छ ।

बैंकले यो अवधिमा ८५ अर्ब ४६ करोड निक्षेप संकलन गरी ६३ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ६१ अर्ब ७१ करोड निक्षेप संकलन गरी ४६ अर्ब २० करोड मात्र कर्जा परिचालन गरेको थियो ।

बैैंकले अघिल्लो वर्ष यो अवधिमा ०.१४ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपात घटाएर ०.१२ प्रतिशतमा झारेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात(पीई रेसियो) ४९.०४ गुणा कायम भएको छ । यो अनुपात १५ देखि २० को बीच हुनुलाई राम्रो मानिन्छ । ४९ गुणा पीईले कम्पनीको खराब बन्दै गएको अवस्था इंगित गर्छ ।

बैंकले हालै ९७१ प्रति सेयरका दरले ६७ हजार ७ सय ६७ कित्ता एफपीओ बिक्री गरेको थियो । बैंकले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर पनि वितरण गरेको थियो । एफपीओ र बोनसको पूँजीकरणपछि ३ अर्ब ११ करोडमा सीमित चुक्तापुँजी ४ अर्ब ९७ करोडको उचाईमा पुगेको छ । एफपीओका कारण रिजर्ब बढेर २ अर्ब ७१ करोडको उचाईमा पुगेको छ । यसरी बैंकको प्रति सेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

यो बैंकले आगामी जेठ ७ गतेदेखि १० बराबर ४ (४० प्रतिशत)को अनुपातमा हकप्रद निश्कासन गर्दैछ । हकप्रदपछि चुक्तापुँजी ६ अर्ब ९७ करोडको उचाईमा पुग्नेछ ।