काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

संस्थाको सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरवाहस्थित होटेल मौर्यामा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। 

बोनस सेयर बाँडफाँडपछि सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ७८ लाख ४५ हजार ११८.०३ रुपैयाँबराबरको एफपीओ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले बोनस सेयर जारी र एफपीओ बिक्रीपछि पुँजी वृद्धि जारी तथा चुक्तापुँजी २४ करोड ६८ लाख ६५ हजार ७३६.३२ रुपैयाँ, अधिकृत पुँजी ५० करोड रुपैयाँ कायम गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

भविष्यमा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृति गरिनेछन्।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।