काठमाण्डौ । ऋणमा डुबेका भारतका दिग्गज उद्योगी अनिल अम्बानीले फेरि सम्पत्ति  बिक्री गर्ने भएका छन् । 

उनको कम्पनी रिलायन्स पावरले अरुणाञ्चल प्रदेशमा १२०० मेगावाट क्षमताको कलाई–दो हाईड्रोइलेक्ट्रिक प्रोजेक्ट टीएचडीसी इन्डिया लिमिटेडलाई बिक्रीका लागि सम्झौता भएको छ । खरिदबिक्री सम्झौता १२८.३९ करोड भारु को भएको जनाइएको छ । 

रिलायन्स पावरले सेयर बजारमा दिएको सूचनाअनुसार हाईड्रोइलेक्ट्रिक प्रोजेक्टलाई बेचेर फण्ड जुटाउने तयारीमा कम्पनी रहेको छ । कलाई पावर,रिलायन्स पावरको सहयोगी कम्पनी हो । 

जानकारीका अनुसार अरुणाञ्चल प्रदेश सरकार र कलाई पावर बीच सम्झौतामा गत ३० डिसेम्बरमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार अरुणाञ्चल प्रदेशमा लोहित नदी बेसिनमा प्रस्तावित १२०० मेगावाट क्षमताको कलाई–दो जलविद्युत आयोजनाको विकास अधिकार र सम्बन्धित भौतिक सम्पत्ति,अध्ययन,डिजाइन अनुमति र बौद्धिक सम्पत्ति टीएचडीसीलाई हस्तान्तरण गरिनेछ । 

कुनै बेला भारतीय सेयर बजारमा रिलायन्स पावर रुचाइएको कम्पनी थियो । जनवरी २००८ मा यो कम्पनीको आईपीओको मूल्य रेकर्ततोड उचाईमा पुगेको थियो ।

त्यसबेला कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६१ भारु थियो । सन् २००७ मा फोब्र्समा प्रकाशित रिपार्टका अनुसार त्यसबेला अनिल अम्बानीको कुल सम्पत्ति ४५ बिलियन अर्ब डलर थियो । त्यसबेला उनी विश्वको तेस्रो धनाढ्य थिए । 

तर अहिले उनको सम्पत्ति  शून्यमा झरेको छ र रिलायन्स पावरको सेयरमूल्य २४.१३ भारुको कौडीको भाउमा झरेको छ । पछिल्लो ५२ हप्ताको यस कम्पनीको न्यूनतम मूल्य ९.०५ भारु  छ । -एजेन्सी