काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का ‘गडफादर’ मानिने जेफ्री हिन्टनले यो क्षेत्रमा नयाँ प्रयोग खतरनाक बन्दै गएको भन्दै गुगलबाट राजीनामा दिएका छन्।

राजीनामा दिने क्रममा ७५ वर्षीय हिन्टनले ‘न्युयोर्क टाइम्स’लाई आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा गरेको कामप्रति अहिले पछुताएको बताए। उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटसँग सम्बन्धित केही खतराहरु धेरै डरलाग्दो छन्।’

‘अहिले यो मानिसभन्दा धेरै बौद्धिक छैन तर जहाँसम्म म भन्न सक्छु यो छिट्टै त्योभन्दा बढी बौद्धिक बन्न सक्छ’, उनले भने। 

डिप लर्निङ र न्युरल नेटवर्कको क्षेत्रमा डा. हिन्टनको महत्वपूर्ण अनुसन्धानले च्याट जीपीटीजस्ता वर्तमान आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमका लागि मार्गप्रशस्त गरेको छ।

हिन्टनले भने, ‘चाँडै च्याटबटले मानव दिमागमा प्रवेश गर्न सक्ने जानकारीको स्तर पार गर्न सक्छ।’

न्युयोर्क टाइम्समा लेखिएको लेखमा उनले खराब मानिसले यसको दुरुपयोग गर्न सक्ने चेतावनी दिएका छन्। –एजेन्सी