काठमाण्डौ । एउटा गाउँमा प्रत्येक दिन बिहान ७ बजे ब्रोडब्यान्ड इन्टरनेट किन अवरुद्ध हुन्छ भन्ने रहस्य एउटा पुरानो टेलिभिजन सेट फेला परेपछि सुल्झिएको छ।
सेन्ट्रल वेल्सस्थित आबेर्होसान गाउँमा बस्ने एक व्यक्ति उनको पुरानो टीभीले पूरै गाउँको इन्टरनेट अवरोध गर्ने एक किसिमको संकेत उत्सर्जन गर्छ भन्नेबारे अनभिज्ञ थिए। पूरै तार फेर्दा पनि इन्टरनेटको समस्या यथावत् भएपछि इन्जिनियरहरूले अनुसन्धान सुरु गरेको थिए। तर त्यतिबेलासम्म १८ महिना भइसकेको थियो।
ती घरधनीले उक्त टीभी प्रयोग नगर्ने वाचा गरेका छन् र त्यो गाउँमा इन्टरनेट सेवा स्थिर बनेको छ। ओपनरीच कम्पनीका इन्जिनियरहरू लगातार उत्पन्न समस्याबाट चकित थिए र त्यसको कारण पत्ता लगाउन जुटे।
एउटा मोनिटरिङ उपकरणको प्रयोगबाट उनीहरूले समस्या कहाँ छ भन्ने कुरा पत्ता लगाए। ती घरधनी प्रत्येक दिन बिहान ७ बजे आफ्नो टेलिभिजन खोल्थे र त्यसबाट उत्पन्न हुने विद्युतीय तरंगले ब्रोडब्यान्ड इन्टरनेटको सिग्नलमा अवरोध पुर्याइदिन्थ्यो।
परिचय खुलाउन नचाहेका ती घरधनी आफ्नो टेलिभिजनका कारण समस्या उत्पन्न भएको विषयमा ‘लज्जित’ रहेको ओपनरीचले जनाएको छ। ‘उनीहरू तत्काल टीभी बन्द गर्न र कहिल्यै नखोल्न सहमत भए’, इन्जिनियर माइकल जोन्सले भने।
समस्या कहाँ छ भन्ने पत्ता लगाउन इन्जिनियरहरूले ‘इलेक्ट्रिकल नोइज’ पत्ता लगाउनका लागि स्पेक्ट्रम एनलाईजर भनिने उपकरण बोकेर गाउँमा हिँड्न थाले। ‘बिहान ७ बजे त्यस्तो हुन्थ्यो’, जोन्सले भने। अवरोधको कारण पत्ता लागेपछि उक्त समस्या नदोहोरिएको उनले बताए।
ओपनरीचकी सुज्यान रदरफर्डका अनुसार घरबाहिर जडान गरिएका बत्तीदेखि माइक्रोवेभजस्ता विद्युतीय साधनले ब्रोडब्यान्ड इन्टरनेटमा समस्या पार्न सक्ने सम्भावना रहन्छ। ‘हामी सर्वसाधारणहरूलाई आफ्ना विद्युतीय उपकरण राम्रोसँग प्रमाणित भएको र त्यसले हालका मापदण्ड पूरा गरेको सुनिश्चित गर्न सुझाव दिन चाहन्छौँ’, उनले भनिन्, ‘अनि तिनमा समस्या देखिए आफ्नो सेवा प्रदायकलाई रिपोर्ट गर्नुहोस् । त्यसो गर्दा हामीले त्यसबारे अनुसन्धान गर्न सक्छौँ।’ – बीबीसीबाट
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago