काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडले आज(असोज १८)देखि २ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको छ । 

आजदेखि निश्कासित हकप्रदमा एक्सेल डेभलपमेन्ट बैंक लिमीटेडका सेयरधनीले आगामी कात्तिक २१ गतेसम्म आवेदन दिनसक्नेछन् । 

यो बैंकको हकप्रद प्रयोजनका लागि भदौ २१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ भदौ २० गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १९ लाख २२ हजार ८ सय १२.५ कित्ता सेयर निश्कासन गरेको हो । एस क्यापिटल लिमीटेडले हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । 

हाल यो बैंकको चुक्तापूँजी ३८ करोड ४५ लाख रुपैयाँ रहेको छ । हकप्रदको निश्कासनपछि चुक्तापूँजी बढेर ५७ करोड ६८ लाखको उचाईमा पुुग्नेछ । यसको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । 

इच्छुक सेयरधनीले लालदरबारस्थित एस क्यापिटलको मुख्य कार्यालय, एक्सल डेभलपमेन्ट बैंक लिमीटेडका सबै शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरुबाट समेत हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

यो बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १५ करोड २६ लाख खूद नाफा आर्जन गरेको थियो । यो बैंकले हालै आफ्ना सेयरधनीलाई ३०.१२ प्रतिशत बोनस सेयर वितरणको समेत प्रस्ताव गरेको छ । बोनस सेयर वितरणपछि यसको चुक्तापूँजी ६९ करोड २६ लाखको उचाईमा पुुग्नेछ ।