काठमाण्डौ । पछिल्लो बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको छ। बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी पनि बढेको छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि मेन्टन नै रहेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक महिनामा बैंकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ थपिएको छ। गत चैत २२ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको थियो। वैशाख २३ गते कुल निक्षेप बढेर ५४ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। 

यो एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप पनि २६ अर्ब रुपैयाँले बढेको छ। गत चैत २२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ९५ अर्ब रुपैयाँ रहेकोमा वैशाख २३ गतेसम्म बढेर ४८ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। 

यसैगरी पछिल्लो एक महिनाको अवधिमा बैंकिङ प्रणालीबाट २६ अर्ब रुपैयाँ बाहिरिएको छ। वैशाख २३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी बढेर ४८ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। गत चैत २२ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब २३ अर्ब रुपैयाँ थियो। 

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि यो अवधिमा २० अर्ब रुपैयाँले बढेको छ। गत चैत २२ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब ७९ अर्ब रुपैयाँ रहेकोमा वैशाख २३ गतेसम्म बढेर ४२ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। 

वैशाख २३ मा बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८५.२५ प्रतिशत कायम भएको छ। गत चैत २२ गतेसम्म औसत सीडी रेसियो ८५.४३ प्रतिशत थियो। 

अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत नै रहेको छ।