काठमाण्डौ । एक रुपैयाँको सिक्का तयार हुन कति खर्च लाग्ला ? धेरैको धेरै उत्तर आउन सक्ला । नेपाल राष्ट्रबैंकले भने एक रुपैयाँको सिक्का बनाउन २ रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको छ । 

नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले रुपैयाँ १ दरका ३० करोड थान सिक्काको डिजाइन, टकमरी तथा आपूर्तिका लागि एक पोल्यान्डको कम्पनीसँग सम्झौता गरेको छ । 

केन्द्रीय बैंकले १ रुपैयाँ दरका ३० करोड सिक्का तयार गरी नेपाल ल्याउने कामसम्मका लागि पोल्याण्डको  मेन्निका पोल्स्का, वार्सा नामको कम्पनीसँग  ५१ लाख १५ हजार यूरोमा सम्झौता गरेको हो । बुधबारको विनिमय दरअनुसार हिसाब गर्ने हो भने ३० करोड थान सिक्काका लागि राष्ट्रबैंकले ७० करोड ५८ लाख ७० हजार रुपैयाँ खर्च गर्नेछ । यसरी हिसाब गर्दा एक रुपैयाँको एउटा सिक्का तयार भई नेपालसम्म आइपुग्दा देशले २ रुपैयाँ ३५ पैसा खर्च गर्नेछ ।