काठमाण्डौ । नक्कली भिसा कार्ड प्रयोग गरी ह्याकरहरुले काठमाण्डौका एटिएमहरुबाट लाखौँ रकम निकालेको आशंकापछि एटिएम सर्भर प्रोभाइडर संस्था नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमस् लिमिटेड (नेप्स) को आइतबार मध्याह्नबाट आवश्यक बैठक सुरु भएको छ ।

काठमाण्डौको दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट शनिबार मध्यरातमा अनधिकृत रुपमा पैसा निकाल्दै गर्दा पाँचजना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ परेपछि नेप्सले आफ्ना सदस्य बैंकहरुको एटिएम सेवा बन्द गरेको थियो । नेप्समा नेपालका ११ वटा वाणिज्य बैंक आबद्ध रहेको र तीमध्ये प्रभु र एनआईसी एसियाबाहेक सबै बैंकको एटिएम सेवा सञ्चालनमा आइसकेको छ ।

बैठकमा नेप्सका सीईओ र सबै बैंकका कार्ड डिर्पाटमेन्टका प्रमुखहरुको उपस्थिति रहेको नेप्सका डिजिटल पेमेन्टका अधिकारी विनय बिजुक्छेले बिजशालालाई जानकारी दिए। बैठकमा हिजो राति घटेको घटनामै केन्द्रित भएर छलफल भइरहेको स्रोत बताउँछ ।

एटिएम सेवा सञ्चालनमा आएका बैंकका एटिएमबाट अहिले अन्य बैंकको रकम निकाल्न बन्द गरिएको छ ।