काठमाण्डौ । नेशनल इन्टिच्युसन फर ट्रान्सफर्मिङ इण्डिया(नीति आयोग)का सीइओ अमिताभ कान्तले आगामी ३ देखि ४ वर्षभित्र डेबिट र क्रेडिट कार्ड तथा एटीएमको युुग अन्त हुने दाबी गरेका छन् । उनको दाबी अनुसार सो अवधिसम्म मानिसहरुले आर्थिक कारोबारका लागि मोवाइलको प्रयोग गर्नेछन्, जसले डेबिट, क्रेडिट र एटीएम कार्डलाई विस्थापित गरिदिनेछ । 

उनका अनुसार भारतमा ७२ प्रतिशत जनसंख्या ३२ वर्षमुनिको छ । ‘भारतमा क्रेडिट कार्ड, डेबिट कार्ड र एटीएमको प्रविधि आगामी ३ देखि ४ वर्षमा बेकार साबित हुनेछ ।’ उनले भनेका छन्–‘र, त्योबेलासम्म हामी सबै हाम्रा सबै कारोबार मोवाइलमार्फत गर्नेछौ ।’ कान्तले यस्तो दाबी अमेटी विश्वविद्यालयको नोएडा क्याम्पसमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा गरेका हुन् । 

उनले केही वर्षमा भारत सबैभन्दा बढी मोवाइल कारोबार गर्ने मुलुक बन्ने समेत दाबी गरेका छन् । उनको भनाईमा यसको संकेत अहिलेदेखि नै देखिइसकेको छ । 

यसअघि पनि कान्तले डेबिट, क्रेडिट कार्ड र एटीएमको आयु सकिने घोषणा गर्दै आएका छन् । यही वर्षको जनवरीमा आयोजित एक अर्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए–‘भारतमा यी सबै कुरा बेकार सावित हुँदैछन् र हामी केवल आफ्नो औंला चलाएर तीस सेकेण्डमा मोवाइलको माध्यमबाट कारोबार गर्न थाल्नेछौ ।’ 

नेपालमा के होला ?
भारतमा झै नेपालमा समेत निकै ठूलो जनसंख्या युवाहरुको रहेको छ, जो अधिकांश स्मार्टफोनका प्रयोगकर्ता छन् । नेपालमा समेत अनलाइन तथा मोवाइल कारोबार प्रणाली सुरु भइसकेको छ । 

नेपालमा हाल विभिन्न बैंक तथा बित्तीय संस्थाका २ हजार ८१ वटा एटीएम काउण्टर रहेका छन् । ५० लाख बढीले डेबिट कार्ड र ७९ हजार बढीले क्रेडिट कार्ड प्रयोग गरिरहेका छन् । 

भारतमा आउने प्रविधिले निकै चाँडो नेपालमा प्रवेश पाउने गर्दछ । सरकारले समेत क्यासलेस कारोबारलाई प्राथमिकतामा राखेको अवस्थामा आगामी दिनमा नेपालमा समेत एटीएम, डेबिट र क्रेडिट कार्ड बेकार हुने देखिन्छ ।