काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकसँग गाभिने प्रक्रियामा रहेको एनआइडीसी डेभलपमेन्ट बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो वर्ष ४४ करोड ३६ लाख खूद नाफा आर्जन गरेको यो बैंकको आर्थिक वर्ष २०७३/७४ मा भने नाफा घटेर २१ करोड ३९ लाखमा सीमित बन्न पुुगेको हो । यसरी खूद नाफातर्फ यो बैंकले १०७ प्रतिशतको पहिरो व्यहोरेको हो । 

अघिल्लो वर्ष २२ करोड १७ लाखमा सीमित खूद ब्याज आम्दानी केही बढी २९ करोड ११ लाख पुुगेको छ । ४ करोड ९४ लाखमा सीमित कर्मचारी खर्च बढेर ७ करोड १५ लाख पुुगेको छ । यस्तै, ४३ लाखमा सीमित अन्य संचालन खर्च बढेर समीक्षा अवधिमा १ करोड ६८ लाख पुुगेको छ । 

संभावित जोखिम बापतको व्यवस्थापनका लागि यो बैंकले ३ करोड ११ लाख सञ्चित गरेको छ । यस्तै, जोखिम बापतको व्यवस्थापनबाट ८ करोड १७ लाख राइटब्याक गरेको छ । 

यो अवधिमा एनआइडीसीले १ अर्ब १५ करोड निक्षेप संकलन गरी ३ अर्ब २ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ६३ करोड निक्षेप संकलन गरी २ अर्ब २५ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म ३ अर्ब ५ करोडको आकारमा रहेको जगेडाकोषमा समीक्षा अवधिको अन्तसम्म ३ अर्ब २६ करोड सञ्चित भएको छ । हाल यो बैंकको चुक्तापूँजी ४ करोड १५ लाखमा सीमित छ ।

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५१.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८८५.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २.९१ गुणा कायम भएको छ । 

यो बैंकले अघिल्लो वर्षसम्म ११.३८ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपात घटाएर ६.९७ प्रतिशतमा झारेको छ ।