काठमाण्डौ । एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरिरहेको एनआइबिएल समृद्धि फण्ड-१ को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) घटेको छ । 

मंसिरको तुलनामा पुसमा नेट एसेट भ्यालू(एनएभी)मा गिरावट आएको हो । 

कम्पनीले प्रकाशित गरेको बित्तीय विवरण अनुसार मंसिरमा नेट एसेट भ्यालू १३ रुपैयाँ ८२ पैसा रहेकोमा पुसमा घटेर १३ रुपैयाँ ६९ पैसामा झरेको हो । 

एक अर्ब रुपैयाँबाट सुरु भएको यो स्किमले पुस अन्तिमसम्ममा ८८ कम्पनीको सूचिकृत सेयरमा ९७ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ । ३ करोड ३० लाख रुपैयाँ विभिन्न ऋणपत्रहरुमा लगानी गरेको छ भने १३ करोड १९ लाख रुपैयाँ सार्वजनिक निश्कासन, हकप्रद, बोनस सेयर लगायतमा लगानी गरेको छ । यो स्किमले १० करोड रुपैयाँ मुद्धती खातामा समेत जम्मा गरेको छ। 

मंसिरसम्मको यो स्किमको खूद घाटा १७ करोड ७५ लाख रहेकोमा पुससम्ममा १९ करोड ३ लाखको विन्दूमा पुगिसकेको छ । 

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ को १५ लाख ६४ हजार कित्ता सेयर खरीद गरेको छ । तर यो फण्डको रकमको हिसाबले सबैभन्दा बढी लगानी चाहि एभरेष्ट बैंकमा छ । बैंकको कुल ३० हजार १ सय २६ कित्ता सेयर खरीदमा यो स्किमले ५ करोड ७९ लाख लगानी गरेको छ । 

यसैगरी, एनआइबिएल क्यापिटल मार्केट लिमीटेडकै प्रवद्र्धनमा संचालित अर्को म्युुचुुअल फण्ड एनआइबिएल प्रगति फण्डले आफ्नो पहिलो मासिक बित्तीय विवरण सार्वजनिक गरेको छ । यो फण्डको खूद सम्पत्ति मूल्य ९ रुपैयाँ ९३ पैसा कायम भएको छ । यो मूल्य प्रति इकाई मूल्य भन्दा कम हो । 

यो फण्ड ७५ करोडबाट सुरु भएको हो । एकमहिनाको अवधिमा यो स्किमले ४ करोड ६ लाख रुपैयाँ विभिन्न सूचिकृत कम्पनीको सेयरमा, १९ लाख ४३ हजार आइपीओ, हकप्रद र बोनस सेयरमा लगानी गरेको छ । 

यो स्किमसँग अझै ७१ करोड ४४ लाख रुपैयाँ बैंक ब्यालेन्स छ । हालसम्म यो स्किमले २६ वटा सूचिकृत कम्पनीमा लगानी गरिसकेको छ । हालसम्म यसले सबैभन्दा बढी सानिमा बैंकको सेयर खरीद गरेको छ । सो बैंकको ६० लाख ६३ हजार रुपैयाँ मूल्यको सेयर यो स्किमले खरीद गरेको हो ।