काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट, प्रा.लि. बसुन्धरा, काठमाडौंबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार सेवामा विशेष छुट दिने विषयमा एक सम्झौता भएको छ । 

बैंकका कर्मचारीहरुले चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक सञ्जिव राजभण्डारीले हस्ताक्षर गरे । 

हाल यो बैंकको देशभर २८५ शाखा, २९५ एटीएम, ४६ एक्सटेन्सन काउण्टर, ३७ वटा शाखारहित बैंकिङ इकाईको वृहत सञ्जाल रहेको छ । बैंकमा करिब १६ लाख ग्राहक रहेका छन् ।