काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको स्वीकृति पाएको छ । 

धितोपत्र बोर्डले बैंकलाई ‘१०.२५% एनआइसी एशिया डिवेञ्चर २०८३/८४’ बिक्री गर्ने अनुमति दिएको हो । 

योसँगै अब निकट भविष्यमै एनआइसी एशिया बैंकले १०० प्रति यूनिट दरका ४४ लाख युनिट ऋणपत्रको निश्कासन गर्नेछ । 

कुल निश्कासन हुने युनिटमध्ये ४० प्रतिशत सर्वसाधारणका लागि हुनेछ भने ६० प्रतिशतले हुन आउने २६ लाख ४० हजार युनिट प्राइभेट प्लेसमेन्ट(व्यक्तिगत तवर)का आधारमा बिक्री गरिनेछ ।

यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा १०.२५ प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । डिवेञ्चर ७ वर्षमा परिपक्व हुनेछ ।

यो डिवेञ्चरको निश्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । 

बैंकले यसअघि माघ १३ गतेदेखि फागुन १३ गतेसम्म ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गरेको थियो । त्यसबेला कुल निश्कासित युनिटमध्ये ६०.११ प्रतिशत मात्र बिक्री भएको थियो ।