काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले बिक्री नभएको २ लाख ९८ जार ५ सय ३६ कित्ता सेयर लिलामीमार्फत बेच्ने भएको छ । 

यो बैंकले आगामी असार १ गतेदेखि बिक्री नभएको सेयरलाई लिलामीमा राख्ने भएको हो । 

लिलामी प्रक्रियामा सहभागी भएर बुद्धिमतापूूर्वक रेट लगाउन सक्ने हो भने राम्रो अवस्थाको यो बैंकको सेयर सस्तोमै उठाउने अवसर प्राप्त गर्न सकिन्छ । 

बैंकले बिहीबार एक सूचना प्रकाशित गरी साधारण सेयरधनीले खरीद नगरेका २ लाख ९८ हजार ५ सय ३६ कित्ता हकप्रद बिक्रीका लागि असार १ गतेदेखि लिलामीमा राखिएको स्पष्ट पारेको छ । यो बैंकले चैत १६ गतेदेखि १५ प्रतिशत निश्कासन गरेको थियो, तर सबै बिक्री भएन । 

लिलामीको प्रक्रियाका व्यवस्थापनका लागि एनआइसी एशिया क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

लिलामीमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । लिलामीको अन्तिम नतिजा असार ९ गते दिउँसो १ः३० बजेभित्र प्रकाशन गरिने बैंकले जनाएको छ । 

लिलामीमा सहभागी हुन चाहनेले प्रति कित्तालाई न्यूनतम १ सय रुपैयाँ मूल्य लगाउनुपर्नेछ भने न्यूनतम १ सय कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिनसक्नेछ । 

बैंकले बबरमहलस्थित एनआइसी एशिया क्यापिटल लिमीटेडको मुख्य कार्यालयमा गएर लिलामीमा सहभागी हुन इच्छुक लगानीकर्तालाई आग्रह गरेको छ । 

यो बैंकको बुधबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४ सय ५३ रुपैयाँ रहेको छ । बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १३ करोड खूद नाफा आर्जन गरेको छ ।