काठमाण्डौ । एनआइसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ । 

समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे । 

एनआइसी एशिया बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने विश्वास गरिएको छ । समझदारीअनुसार सूर्या लाइफका ग्राहकले बैंकका क्यूआर कोड, कार्ड पीओएस,  इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । 

यस समझदारी पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झञ्झटबाट मुक्ति पाउने र भीड रहित तथा सरल सेवा पनि प्राप्त गर्नसक्ने बताइएको छ । 

साथै, आगामी दिनहरुमा बैंकले संचालनमा ल्याउने इन्टरनेट भुक्तानी गेट्वे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध गराइने बैंकले जनाएको छ । 

विश्वमा बैंकहरुले डिजिटल सेवालाई जोड दिइरहेकोमा एनआइ सी एशियाले पनि यसैगरी डिजिटल भुक्तानीलाई बढाउदै लाने समेत प्रतिबद्धता जनाएको छ ।

हाल यो बैंकले देशभर रहेका ३१३ शाखा कार्यालयहरु, ४४१ एटिएम, १०४ वटा एक्स्टेन्सन काउण्टर एवं ४८ वटा शाखारहित बैंकिङ्ग इकाईबाट करिब २१ लाख ग्राहकलाई आधुनिक र गुणस्तरीय सेवा दिइरहेको छ ।