काठमाण्डौ । एनआइसी एशिया बैंकले भ्यालेन्टाइन डे लक्षित गरी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत कारोबार गर्ने ग्राहकहरुलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा ‘भ्यालेन्टाइन डे’को दिन निःशुल्क डिनरको अफर ल्याएको छ । 

यो स्किमअन्तर्गत ११ फेब्रुअरीदेखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गतेसम्म एनआइसी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मोबैंक(ःयद्यबलप) मार्फत कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमिका तथा जीवनसाथीसँगै सोल्टीमा विशेष डिनरको अवसर पाउनेछन् । 

यस बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत कुनै पनि भुक्तानी जस्तै क्यूआर पेमेन्ट, बिजुली बिल भुक्तानी, मोवाइल टपअप लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई ‘भ्यालेन्टाइन डे’कै दिन डिनरको कुपन प्रदान गरिने बैंकले जनाएको छ । तर, यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिनेछैन । 

यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा विजेता ग्राहकहरुलाई फोनमार्फत जानकारी दिनेछ । डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित ‘भ्यालेन्टाइन डे’को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटल गएर डिनरमा सहभागिताको अवसर पाउने बताइएको छ । 

बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पुर्याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्गप्रति लालायित गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ । 

बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ । साथै बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न क्यास ब्याक(नगद फिर्ता)को अफर समेत नियमित रुपमा दिइरहेको छ । यस बैंकको मोबैंकमार्फत एनटीसी तथा एनसेलको टपअप गर्दा ३ प्रतिशत क्यासब्याक तथा हरेक बुधबार दराज डटकमबाट सामान खरीद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको नगद फिर्ता, हरेक शुक्रबार ह्याप्पी आवरमा एपमार्फत भुक्तानी गर्दा अधिकतम १०० रुपैयाँसम्मको नगद फिर्ता र सामसङ ग्यालेक्सी एसटेन प्लस तथा नोट टेन प्लस खरीद गर्दा अधिकतम रु. ३००० सम्मको छुटको समेत व्यवस्था गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।