काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएका छन् । 

कोभिड १९ का कारण सिर्जित असहज परिस्थिति, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी रू. ३२.१२ आर्जन गर्न सफल भएको छ । 

खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले ३ प्रतिशत (रू. ९.८ करोड) को वृद्धिसहित रू. ३ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

आ.व. २०७५/७६ को सोही अवधीको खुद मुनाफा रू. ३ अर्ब २ करोड रहेको थियो । 

बैंकको स्वपुँजीमा प्रतिफल १९.४१ प्रतिशत रहेको छ र जुन समग्र वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।

बैंकको आ.व. २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा कर्जातर्फ रू. २३ अर्बले वृद्धि गरी कुल कर्जा रकम रू. १७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.५९ प्रतिशत रहेको छ । 

समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा ११.७० प्रतिशत (करिब रू. ३०३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत (रू. २३ अर्ब) ले कर्जा वृद्धि गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्च वृद्धि हो । 

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा रू.३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २११ अर्ब पुर्याउन बैंक सफल भएको छ । जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल वृद्धिको ७.९६ प्रतिशत रहेको छ । 

साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६.५ प्रतिशत (करिब रू.४७७ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (रू.३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ । 

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही रणनीति अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६.०८ प्रतिशत कर्जा यस्ता साना रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैंकले अवलम्वन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ। 

गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेप(कासा)तर्फ रू. २२.१२ अर्बले वृद्धि गरी कासा मिश्रणको प्रतिशत ४५.१७ पुर्याउन सफल भएको छ जुन समग्र वाणिज्य बैंकहरूको औषत करिब ४२ प्रतिशतको तुलनामा ३.१७ प्रतिशत विन्दुले बढी हो । 

बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अबलम्वन गरी अगाडि बढिरहेको छ । जसको परिणाम स्वरूप प्रमुख १० निक्षेककर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केबल १० प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । त्यस्तैगरी बैंकको कल निक्षेपको अंश हाल कुल निक्षेपको ९.६ प्रतिशत कायम गर्न सफल भएको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो ।

यस बैंकको आफ्नो दिर्घकालीन रणनीति अनुरूप ग्राहक संख्यामा विस्तार गर्ने र डिजिटल फस्ट बैंक बन्ने लक्ष्यलाई मूर्त रूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भई कुल २२ लाख ग्राहकहरूमाझ आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । 

गत आर्थिक वर्षमा बैंकले डिजिटल बैंकिङ्गतर्फ पनि उल्लेखनीय उपलब्धी हासिल गरेको छ । यस बैंकले आ. व. २०७६/७७ मा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशतसहित कुल ८ लाख ६६ हजार पुर्याउन सफल भएको छ । साथै मोबाइल बैंकिङ्गमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशत सहित कुल १२ लाख १ हजार पु¥याउन सफल भएको छ । 

त्यसैगरी इन्टरनेट बैंकिङ्गतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशत सहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू पुर्याउन बैंक सफल भएको छ ।  साथै बैंकले १५ हजार भन्दा बढी क्यूआर मर्चेन्ट र करिब ४ हजार पस मर्चेन्ट मार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।